रसुवा आँसुले बगेको छ,
भोटेकोशीको उर्लंदो भेलसँगै
कति जीवन, कति सपना र कति भविष्य बगेका छन्।
घरहरू ढले, आँगनहरू उजाडिए,
चुल्हा निभे, खुसीहरू हराए,
आफन्त खोज्दै भौँतारिएका आँखामा
आज आँसु र अनिश्चितताको अँध्यारो मात्र बाँकी छ।
कोही आमाले छोरा खोजिरहेकी छन्,
कोही छोरीले बाबाको बाटो हेरिरहेकी छन्,
कसैको काख रित्तिएको छ,
कसैको सिन्दूर पुछिएको छ,
कसैको घरबारसँगै जीवनभरको सहारा बगेको छ।
पहिरोले बाटो छेकेको छ,
पुलहरु बगेका छन्,
सञ्चार र विद्युत् अवरुद्ध छन्,
राहतको प्रतीक्षामा
भोक, चिसो र भयसँग जुधिरहेका छन् मानिसहरू।
सिन्धुपाल्चोक रोएको छ,
धादिङ र नुवाकोटहरु रोएका छन्,
देशका पहाडी बस्तीहरू
आफ्ना घाउ समाउँदै रोइरहेका छन्।
देशै राेएकाे छ,
नेपालको एउटा कुनाबाट उठेको यो चित्कार
आज सम्पूर्ण देशको मुटुमा गुञ्जिएको छ।
हे ईश्वर !
हराएकाहरूलाई सकुशल फर्काइदेऊ,
रित्तिएका काखहरू फेरि भरिदेऊ,
उजाडिएका घरमा फेरि चुल्हो बलोस्,
विस्थापितहरूलाई सुरक्षित आश्रय मिलोस्,
घाइते मनहरूमा फेरि आशाको उज्यालो पलाओस् ।
बाढीले धन,घर,
सडक, पुल र बस्ती बगाए तापनि
मान्छेको साहस
बगाउन नसकोस्
यही पुकार छ,
यही प्रार्थना छ ।
मिति : २०८३ भाद्र १० गते बुधबार।
स्थान : सैनिक स्कुल,तेघरी ( शिक्षक निवास )

No comments:
Post a Comment