आकाशमुनि हिँडेको मन - Harka Bohara

नयाँ

Thursday, January 15, 2026

आकाशमुनि हिँडेको मन

   धनगढी विमानस्थलको धावनमार्गमा जहाज विस्तारै अघि बढ्दै गर्दा मन भने निकै परपर दौडिरहेको थियो। आकाश चिरेर अघि बढ्दै  गयो जहाज ......। इन्जिनको मधुर गुन्गुनाहटसँगै मन शान्त हुँदै गयो, यात्राको प्रत्येक क्षण रमणीय र आत्मीय बन्दै गइरह्यो । जहाजभित्र कहिले बादलसँग कुरा गरेझैँ लाग्याे, कहिले जीवनका अधुरा सपनाहरू आकाशमै टाँसिएझैँ लाग्यो। हवाई जहाजको आवाजभन्दा सोच धेरै गहिरो जाँदो रहेछ। पखेटा जहाजको हुन्छ तर सपना यात्रुका  उड्दा रहेछ। सोच्दै जाँदा मनले आफैँसँग भन्यो, “यात्रा दूरीको गणित होइन, यो त अनुभूतिको कविता हो।”
जहाजले आकाश छोएसँगै दृश्यहरू क्रमशः साना साना बन्दै गए। आकाशको काखमा बसेर सोचेँ :

कति कुरा तल छुटे,
कति सम्झना साथ आए,
यात्रा त अघि बढ्यो,
तर मन पछाडि फर्किरह्यो।

यात्रा रमणीय थियो, तर रमणीयताभित्र पनि एउटा गहिरो शान्त पीडा लुकेको छ, आफ्नै जीवनकाे कथा सम्झिँदा उत्पन्न हुने मौन वेदना ... । मैले यतातिरको वर्णन गरेँ भने रोदन र क्रन्दनको संवेग उत्पन्न हुनसक्छ त्यसैले त्यसलाई मनभित्रै सगाँलेर राखेँ ।

जहाजको झ्यालबाट तल हेर्दा देखिने स-साना बस्तीहरूभित्र आफ्नै जन्मभूमि बडीकेदार गाउँपालिका वडा नं. ५, लाना,बगरगडा, डोटी झल्किएजस्तो लाग्यो।  आकाशबाट हेर्दा मेरो जन्मभूमि झन् पवित्र लाग्यो । त्यो माटो, त्यही स्वच्छ हावा, बालापनमा खेलेको आँगनको सम्झनाहरू मनभरि भरिए। आठ दशक पार गरेकी मेरी ममतामयी आमाको अनुहार आँखामा आइरह्यो, आमाको आशिषले मात्र जीवनका सबै यात्राहरू सम्भव भएका हुन्।

८२ वर्षीया मेरी आमा
ममताको मूर्ति,
आशीर्वादको छायाँ।
आकाशको बिचमै उभिएर
म आमाको काख खोज्दै थिएँ ।

 परिवारका सबै सदस्य गाउँले दाजुभाइ दिदीबहिनीहरुको झझल्को मथिङ्गलमा घुमिरह्यो । मनमा जननी र जन्मभूमिप्रतिको माया  उर्लेर आयो, “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” भन्ने वाक्य हृदयभरि बजिरह्यो।

 जहाजभित्रको वातावरण शान्त थियो । जहाजभित्रको मौनतामा जीवनका हजारौँ आवाजहरू एकैपटक बोल्न थाल्छन् । यात्रुहरू आ–आफ्नै संसारमा हराइरहेका थिए। कोही झ्यालबाहिर हेरेर भविष्य खोज्दै थिए, कोही आँखाभित्र फर्केर अतीत गन्दै थिए। यात्राको क्रममा आफूले पढाएको विद्यार्थी सर्वार्थ मल्ल भेटिनु संयोग थियो । उसलाई मैले चिनेनछु । कण्ठस्तै रहेछु म उसकाे लागि.....। शब्दमा नभए पनि उसको आँखाले बोलिरहेको थियो,“गुरु अझै हाम्रो बाटोमा दीप बनेर उभिरहनुहुनेछ" । समय फेरिए पनि सम्मान र आत्मीयताले सम्बन्ध जोगाइराखेको देख्दा मन पुलकित भयो। यतिबेला मेरो कर्मभूमि सैनिक आवासीय महाविद्यालय,तेघरी, कैलालीलाई धेरै सम्झिन पुगेँ  ।


 दुवै जना विमान परिचारिका (एयर होस्टेस) को व्यवहारले यात्रामा थप सौन्दर्य भरिदियो। सबैप्रति समान आदर, सौम्य बोली र मुस्कान अनि संस्कार थियो ।चकलेट, पानी दिने र फोहोर सङ्कलन गर्ने व्यवहार अनुकरणीय लाग्यो  । मुस्कान पनि कहिलेकाहीँ औषधि हुन्छ, नदेखिने तर गहिरो असर पारिदिने ....। मानवताले भरिभराउ थिए उनीहरू .......। सुन्दरता  पनि कम्तीको थिएन ? 

  दोस्रो साइडको सिटतिर आमाको काखमा सुन्दर छोरी मुस्कुराउँदै खेलिरहेकी थिई। निष्कपट आँखाले पूरै जहाज उज्यालो पारेझैँ लाग्यो। बालकको हाँसो ईश्वरको सबैभन्दा साँचो भाषा हो,जहाँ कुनै अनुवाद चाहिँदैन।  निस्वार्थ माया, प्राकृतिक हाँसोकाे दृश्यले आफ्नै घर, श्रीमती र छोराहरूको यादले पिरोल्यो । आफ्नै छोरी सम्झेर सिटबाट उठेर एउटा चकलेट दिएँ , ऊ झन् खुसी भई। "घर पर्खाइ रहेछ, परिवार सम्झनाको थलो रहेछ।" मनमनै बोले ।

मनले फेरि सोच्यो,
जहाँ माया छ,
त्यही घर हो,
जहाँ सम्झना छ,
त्यही मनको बास हो ।

झ्यालछेउबाट फेरि चियाएँ, पाखा पखेराले हरियालीकाे ओछ्यान ओछ्याएर सुतेजस्ता देखिन्थे। ती दृश्यहरूले  देशप्रति गर्भानुभूति भयाे। यति सुन्दर देशको सन्तान हुनु  सौभाग्य ठानेँ । जहाजबाट देखिने सुन्दरता मेरो मनभित्र विशाल इतिहास हो। यही मनोरमभित्र मेरा स्मृति, संस्कार र पहिचान अटाएका छन्। प्राकृतिक सम्पदाका दृष्टिले मेरो  देश सुनको चरा हो, आत्मा चुमिरहने राष्ट्र हो ।

नदीहरू बगिरहेछन्
मौन भाषामा,
पहाडहरू उभिएका छन्
अटल विश्वासजस्तै
यो देश
मात्र नक्सामा होइन,
मेरो रगतमा बग्छ।

   कल्पना, सम्झना र दृश्यहरू एकआपसमा मिसिँदै जहाजबाट गिजीमिजी देखिने काठमाडौँ आँखै अगाडि आयो । आकाशबाट जमिन नजिकिँदै गर्दा मन भने अझै आमा, जन्मभूमि, कर्मभूमि, मातृभूमिकाे सुन्दर प्रकृतिमै अल्झिरहेको थियो। अन्तमा आकाश जमिनसँग मौन संवाद गर्दै अनेकन विचारहरूको  लहरहरूमा बग्दै  जहाज काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको पत्तै भएन। रनवेमा छरपष्ट देखिएका जहाजहरूले विकास र सम्भावनाको प्रचुर संकेत अनुमान गरेँ  । मन मस्तिष्कमा अनौठो खुसी र जिम्मेवारी दुवै मिसिए ।

यात्राको अन्त्यमा एकनासले कल्पी रहेँ:
जहाँ जहाज रोकियो,
त्यहाँ यात्रा सकिएन,
स्मृतिमा बाँचेको यो उडान,
जीवनभर उडिरहनेछ।
    
    अन्तमा यात्रामा भेटिएका मानवीय सम्बन्ध, सम्मान र ममताका झिल्काहरूले जीवनको मूल्य सम्झाइदियो। यात्रा छोटो भए तापनि  मेरो स्मृति, संवेदना र आत्मचेतनामा गहिरिएर बस्न पुग्यो । यो यात्रा केवल भौगोलिक दूरीको कथा होइन, सम्झना, कृतज्ञता र आत्मबोधले भरिएको एक गहिरो यात्रा संस्मरण हाे । 






No comments:

Post a Comment