१. प्रस्तावना:
नेपालको इतिहासमा नेपाली सेनाको भूमिका केवल युद्ध वा सीमा सुरक्षामा सीमित छैन। शान्ति स्थापना, विपद् व्यवस्थापन, विकास निर्माण, र सामाजिक सेवामा समेत सेनाले सक्रिय योगदान पुर्याउँदै आएको छ। विशेषतः शिक्षा क्षेत्रमा पनि सेनाले आफ्नो अमूल्य कदम राखेको छ, जसले राष्ट्रको भविष्य निर्माणमा ठुलो टेवा पुर्याएको छ।
विगतका दशकहरूमा सेनाले नेपालका विभिन्न भू–भागमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय र महाविद्यालय स्थापना गरेको छ। यी संस्थाहरूमा अनुशासन, गुणस्तरीय शिक्षण, नेतृत्व क्षमता विकास र राष्ट्रिय भावना सुदृढीकरणमा विशेष ध्यान दिइन्छ।
२. सेनाको शिक्षा क्षेत्रमा प्रवेश र उद्देश्य:
शिक्षा क्षेत्रमा सेनाको प्रवेशको प्रमुख उद्देश्य तीनवटा रहेका छन्:-
क) सैनिक परिवारका सन्तानलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने :- ड्यूटीको कारण सैनिक सदस्यहरू प्रायः टाढा–टाढा खटिने भएकाले उनीहरूको परिवारलाई सुरक्षित र नियमित शैक्षिक वातावरण उपलब्ध गराउन ।
ख) सर्वसाधारणका बालबालिकालाई अवसर प्रदान गर्ने :- सेनाको संस्थागत क्षमताबाट सर्वसाधारण विद्यार्थीहरूलाई पनि अनुशासित र प्रतिस्पर्धात्मक शिक्षा दिने लक्ष्य लिन।
ग) राष्ट्रिय चरित्र र नेतृत्व क्षमता विकास गर्ने :- विद्यार्थीमा देशभक्ति, सेवाभाव, र जिम्मेवारीबोध जागृत गर्ने उद्देश्यले पाठ्यक्रम र अतिरिक्त क्रियाकलापलाई मिलाउन।
३. सेना र यसको भूमिका:
सेना कुनै पनि देशको राष्ट्रिय सुरक्षाको प्रथम रेखा हो। यसको प्रमुख जिम्मेवारी सीमाको रक्षा गर्नु, विपद्को समयमा उद्धार तथा राहत कार्य सञ्चालन गर्नु, र आन्तरिक शान्ति कायम राख्नु हो । नेपाली सेनाले ऐतिहासिक रूपमा युद्धमा विजय हासिल गर्नुका साथै शान्ति स्थापनामा समेत महत्त्वपूर्ण योगदान पुर्याएको छ।
आजको आधुनिक युगमा सेनाको भूमिका केवल बन्दुक बोकेर युद्ध लड्ने मात्र नभई सामाजिक सेवा, पूर्वाधार निर्माण, र विपद् व्यवस्थापनमा समेत देखिन्छ। शिक्षा क्षेत्र पनि सेनाको यही सामाजिक योगदानको एक हिस्सा हो ।
४. महाविद्यालयहरूका विशेषताहरू:
सेनाबाट सञ्चालित महाविद्यालयहरू अन्य साधारण शैक्षिक संस्थाभन्दा केही हिसाबले फरक छन्:-
क) अनुशासनमुखी वातावरण, समयपालन, पोशाक, आचरण र जिम्मेवारीमा कडाइ।
ख) गुणस्तरीय शिक्षण, अनुभवी शिक्षक, प्राविधिक सहयोग, र नियमित मूल्याङ्कन प्रणाली।
ग) अत्याधुनिक सुविधा, पुस्तकालय, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, खेलमैदान र होस्टल सुविधा।
घ) चौतर्फी विकासमा जोड, शैक्षिकसँगै शारीरिक, सांस्कृतिक र नेतृत्व विकासका कार्यक्रममा जोड।
ङ) सुरक्षित र प्रेरणादायी वातावरण, विद्यार्थीलाई सकारात्मक ऊर्जा र प्रेरणा प्रदान गर्ने माहोल।
५. योगदान र प्रभाव:
नेपाली सेनाले विभिन्न विद्यालय, महाविद्यालय र तालिम केन्द्र स्थापना गरेर गुणस्तरीय शिक्षाको प्रसारमा उल्लेखनीय भूमिका खेलेको पाइन्छ :-
क) सेनाले स्थापना गरेका विद्यालय र महाविद्यालयहरूले अनुशासन, समयपालन र उच्चस्तरीय व्यवस्थापनलाई प्राथमिकता दिन्छन्। यस्ता शैक्षिक संस्थाहरूमा अध्ययन गर्ने विद्यार्थीहरूले केवल पाठ्यक्रमीय ज्ञान मात्र होइन, जीवनका महत्त्वपूर्ण मूल्यहरूजस्तै देशप्रेम, जिम्मेवारी, सहयोग र नेतृत्वसमेत सिक्ने अवसर पाउँछन्।
ख) नेपाली सेनाले सुविधा-विहीन क्षेत्रमा पनि शैक्षिक सेवा पुर्याएको छ। कतिपय विद्यालयहरू यस्ता क्षेत्रहरूमा सञ्चालनमा छन् जहाँ निजी वा अन्य सरकारी विद्यालय पुग्न कठिन छ। यसले ग्रामीण तथा सीमावर्ती क्षेत्रमा शिक्षा विस्तारमा मद्दत पुर्याएको छ।
ख) सेनाको शैक्षिक योगदान केवल विद्यालय र महाविद्यालय सञ्चालनमा सीमित छैन। सैनिक तालिम केन्द्रहरूले सुरक्षा, विपद् व्यवस्थापन, स्वास्थ्य तथा प्राविधिक शिक्षा प्रदान गर्ने काम पनि गरेका छन्। यस्तो तालिमले सैनिक सदस्यहरू मात्र होइन, सर्वसाधारणलाई पनि आपत्कालीन अवस्थामा उपयोगी सिप सिक्न मद्दत पुर्याउँछ।
घ) सेनाले शैक्षिक क्षेत्रमा गुणस्तरीय पूर्वाधार निर्माणमा पनि योगदान पुर्याएको छ। प्रशस्त खेल मैदान, पुस्तकालय, प्रयोगशाला, तथा आधुनिक प्रविधियुक्त कक्षा कोठाहरूले विद्यालय तथा महाविद्यालयहरु सुसज्जित छन्।
६. निष्कर्ष:
शिक्षा समाजको मेरुदण्ड हो भने सेना राष्ट्रको सुरक्षा कवच हो। जब यी दुई शक्तिहरू एउटै दिशामा अग्रसर हुन्छन्, तब राष्ट्रको विकास तीव्र गतिमा अघि बढ्छ। त्यसैले, सेनाको शैक्षिक योगदानलाई सम्मान गर्दै यसको निरन्तरता र विस्तारमा सबै पक्षले सहयोग पुर्याउनु आजको आवश्यकता हो।
शिक्षा जस्तो मूलभूत क्षेत्रमा नेपाली सेनाको योगदान प्रशासनीय देखिन्छ। सेनाबाट निर्मित महाविद्यालयहरूले अनुशासन, गुणस्तर, नेतृत्व क्षमता र राष्ट्रिय भावना भरिपूर्ण नयाँ पुस्ता उत्पादन गर्दै राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

No comments:
Post a Comment