प्रिया तलब,
मिठो सम्झना ।
तिमीलाई सम्झेर कलम समाउँदा मनभित्रका भावनाहरू एकैपटक वर्षौँदेखि थामिएर आएको भेल झैँ उर्लिएर आउँछ । शब्दहरू पनि मानौँ तिमीलाई भेट्न हतारिएका छन्, अडिनै मान्दैनन्। तिमी मेरा लागि आशा हौ, भरोसा हौ, प्रतीक्षा हौ, मेरो सानो संसार धानेर राख्ने अदृश्य आधार हौ।
जब तिमी आएर घन्टी बजाउँछौ तब मन निकै रमाउँछ। अनुहार चम्किलो हुन्छ, साहस आउँछ तर त्यो खुसी धेरै टिक्दैन । तिमी आउँछौ, थोरै बस्छौ, अनि हिँडिहाल्छौ । आउने बित्तिकै तिमी आफ्नै यात्रामा निस्कन्छौ । मेरो मन साह्रै कुडिन्छ । कहिले विद्युत कार्यालयतिर, कहिले खानेपानीसँग भेटघाट गर्न भन्छौ ? दगुरेर स्कुल पुग्छौ । पसलेहरू तिमीलाई देख्नेबित्तिकै झन् खुसी हुन्छन् । उनीहरूसँग तिम्रो विशेष माया रहेछ । दूधको डेरीमा पनि तिमी नपुगी मान्दिनौ । अस्पतालतिर पनि कहिलेकाहीँ नगई हुँदैन।
म भने टुलुटुलु हेरिरहन्छु। अचम्म त के छ भने, तिमी आएको एक दिनमै मसँग बिदा माग्छौ। कति निष्ठुरी रहेछौ भन्ने लाग्छ। म तिमीलाई महिनाभरि कुरेर बस्छु। सोचिरहन्छु, तिमीले मेरो जीवनमा केही उज्यालो ल्याउँछौ कि भनेर ....। तिम्रो मेरो सम्बन्ध राम्रो होस् भनेर अनेक पूजापाठ पनि गरेकै छु। घरी यता घरी उता दगुर्दा दगुर्दै मलाई रित्तो बनाएर हराउँछौ । तलब मैयाहरूले मलाई मात्र होइन धेरैलाई रित्तो बनाएकै होलान् ।
अनि म फेरि निराश हुन्छु। मेरा सपना खजरङ्ग हुन्छन्। मनले भन्छ, तिमी मसँग अलि लामो समय बसिदिएको भए हुन्थ्यो । खै किन हो ? तिमी मलाई यति छिट्टै एक्लो पारेर जान्छौ।
कहिलेकाहीँ त यस्तो लाग्छ । तिमी अरुसँग नै सल्किएछौ । मसँग किन पर्याप्त भलासुकाली गर्दिनौ।? मसँग किन पर्याप्त ममता गर्दिनौ? तर के गर्नु, म तिमीलाई धेरै माया गर्छु। हाम्रो सम्बन्ध पनि धेरै पहिलेदेखिको हो । हुन त तिम्रा पनि आफ्नै बाध्यता होलान्, आफ्नै जिम्मेवारीहरू होलान्।
मेरो साथीहरू भन्ने गर्नुहुन्छ," तिमीजस्तै थुप्रै प्रियसीहरू त वर्षौँसम्म साथ दिन्छन् रे। सँगसँगै बस्छन् रे । गइहाल्दा पनि तुरुन्तै फर्की हाल्छन् रे ।" त्यस्तो सुन्दा त मन झन् चसक्क दुख्छ, अनि तिमीप्रति मेरो अपेक्षा झन् बढ्छ।
अबदेखि मसँग लामो समय बस्ने गरी आऊ है प्रिया..... तिमीलाई आउँदा पनि यति दुब्लिएर आउँछौ ? अलि मोटाएर आऊ । टन्न माया बोकेर आऊ, भरपूर भएर आऊ.....।
विद्युतीय तरङ्गमा हराएर नजाऊ । मोबाइल र अनलाइनका बाटाहरूमा बिलाएर नजाऊ। तिमी दुब्लिएको देख्दा म पनि दुब्लिँदै गएको छु। तर यदि तिमी मसँग बस्यौ भने, म फेरि अवश्य मोटाउनेछु ।
तिमीलाई भन्नुपर्ने त कति छ कति ? जब तिमी मसँगै रहनेछौ तब हामी मन खोलेर धेरै कुरा गरौँला। मसँग तिमीलाई सुनाउनै पर्ने अनेकन कथाहरू मनभित्र सजाएर राखेको छु । मेरा कुराहरूमा मन नदुखाउनू .....। यति लेख्दै बिदा चाहन्छु। बाँकी भेटमा .......।
तिम्रो प्रतीक्षाको राजा
सुदामा

No comments:
Post a Comment