अदृश्य अनुहार (कथा) - Harka Bohara

नयाँ

Tuesday, April 21, 2026

अदृश्य अनुहार (कथा)



      पहाडको गहिरो खोँचभित्र लुकेको त्यो सानो गाउँ जहाँ समय नै थामिएको थियो । करिब चालिस वर्ष अघिको परिवेशमा न बिजुलीको उज्यालो थियो, न बाटोको सहजता, न पसल, साँझ पर्नासाथ अँध्यारो गाउँमाथि ओत लाग्थ्यो, र दियालोको झिनो ज्योतिमा मानिसहरू आफ्नो थकानसँगै आफ्ना पीडाहरू पनि पोल्थे । कैलाली जिल्लाको चौमालाबाट आठ दस दिन पैदल हिँडेर ल्याइएको नुनबाहेक अरू सबै कुरा गाउँमै ऐँचोपैँचो गरेर जीवन धानिन्थ्यो । कसैले गोरु पाल्थे, कसैले बाख्रा चराउँथे, कसैले वनबाट कन्दमूल खनेर ल्याउँथे । प्रकृति अपार सुन्दर थियो त्यहाँको  । बिहान कुहिरोले पहाडका काखमा नाच्थ्यो, खोल्साहरूबाट पानीको मधुर संगीत बग्थ्यो तर त्यो सुन्दरताको कुनै पनि अर्थ थिएन  ।

त्यही गाउँमा जन्मिएको थियो कमल  । उसको जीवन सुरुदेखि नै कठोर यथार्थको चिसो स्पर्शले घेरिएको थियो । ऊ तीन वर्ष पनि नपुग्दै उसका बुबा बित्नुभयो । माघ महिनाको कठ्याङ्ग्रिने जाडो थियो  । आफ्ना पिताको मृत्युको दिनको स्पष्ट सम्झना त उसलाई छैन, तर एउटा धुम्म दृश्य उसको मनमा सधैँका लागि अड्किएर बस्यो, घरको कुनामा बसेकी आमा, हातका बाला फुकाल्दै गर्दा बगिरहेका आँसु, र त्यो आँसुमा डुबेको एउटा मौन चिच्याहट । त्यस दिनपछि बुबा उसका लागि केवल एउटा शब्द बने, नाम मात्र, कल्पना मात्र, एउटा अधुरो कथाको पात्र जस्तो  । घरमा बुबाको तस्बिर थिएन; सायद त्यतिबेला त्यो गाउँले क्यामेराको अनुहारसम्म देखेको थिएन । मानिसहरू सम्झनामा बाँच्थे  । कमलसँग सम्झनासमेत थिएन ।

गाउँमा भनिन्थ्यो,“बाउको छायाँ मिल्यो भने छोराको बाटो उज्यालो हुन्छ ।” तर कमलको बाटो सधैँ घामछाँयामा डुलिरह्यो । उसको बाल्यकाल अभाव, दुःख र गरिबीको धुलोमा हरायो । कमललाई पिताको ममता र अभिभावकत्व मृगतृष्णा झैँ भयो । बिहानै आमा उठ्नुहुन्थ्यो । कोदोको रोटी पकाउनुहुन्थ्यो, थोरै नुन तरकारीका रूपमा दिनुहुन्थ्यो अनि एक गिलास छाँच हुन्थ्यो  । त्यो नै उसको दिनभरको खाना हुन्थ्यो । उसँग फाटेको लुगा, च्यातिएको चप्पल, र पेटभरि खान पाए हुन्थ्यो भन्ने पवित्र सपना बाहेक अरु केही थिएन  ।

छोरो पढ्ला भनेर त होइन, घरमा काम गर्न सजिलो हुन्छ भनेर कमललाई आमाले नजिकैको स्कुल पठाइदिनुहुन्थ्यो  । कमल रुँदै रुँदै स्कुल जान्थ्यो  । बिस्तारै अक्षरहरूले उसलाई बाँध्यो । ती अक्षरहरू उसलाई नयाँ संसारका ढोका जस्ता लाग्न थाले । केही दिनपछि ऊ आफैँ भन्न थाल्यो,"इजा, म स्कुल जान्छु   ।" उसकी आमा खुसी हुनुभयो ।

स्कुल जाँदा साथीहरूले गिज्याउँथे, "फाटेको र पाँच ताला हालेको लुगा लगाएर आएको भनेर ।" प्रहार गरिएका फिक्का शब्दहरू साना थिए, तर चोट गहिरो थियो । कमल भने चुपचाप सहन्थ्यो । मनभित्र एउटा प्रश्न उठिरहन्थ्यो, "बुबा हुनुभएको भए ?" तर त्यो प्रश्नको उत्तर दिने कोही थिएन । गाउँको सानो स्कुलमा पाँच कक्षासम्म पढेपछि छ कक्षादेखि पढ्न अर्को स्कुल पुग्न दुई घण्टा हिँड्नुपर्थ्यो । त्यसैले डेरा गरेर बस्नुपर्ने बाध्यता थियो  । शुक्रबार घर फर्किने, फेरि हप्ताभरिको सामल बोकेर स्कुलतिर फर्किनुपर्थ्यो ।

उसको पढाइ राम्रो थियो । शिक्षकहरू भन्थे,“यो बाबु पढ्नमा राम्रो छ ।” गाउँका मान्छेहरु पनि भन्थे, " यो मूल्या पड्डामी निगो छ ।" तर घरमा आमा एक्लै थिइन्  । खेती, पशुपालन, घरधन्दा सबै उहाँकै काँधमा । उहाँ अक्षर नचिन्ने हुनुहुन्थ्यो तर छोराको शिक्षामा कहिल्यै अवरोध बन्नुभएन । संसारले साथ छोडे पनि आमाको आशीर्वादले जीवनलाई सम्हालिरहन्छ भन्ने भनाइ कमलको जीवनमा साक्षात् देखिन्थ्यो ।

कमलको मनभित्र एउटा खालीपन सधैँ जिउँदो थियो ,बुबाको अनुहार नदेखेको पीडा.... । कमल बुबाको बारेमा आमालाई पटक पटक साेधिरहन्थ्यो  । आमा केही नबोली बस्नुहुन्थ्यो  । जब धेरै सोधेर सताउँथ्यो तब केही नबोलिकन आमा उठेर अन्तै जानुहुन्थ्यो  । कमल आफ्नी आमाको पति बियोगको पीडा ब्यूँताइरहन्थ्यो  ।

एकदिन उसले गाउँका बूढापाकासँग सोध्यो,“मेरा बुबा कस्तो हुनुहुन्थ्यो ?”

कसैले भन्यो,“तिम्रा बुबा तिमीभन्दा गोरा र बलिया थिए ।”

कोही भन्थे, “नुन र निकाला लिन जाँदा हामीभन्दा बढी ल्याउँथे ।”

कसैले भन्यो,“राम्रा थिए ।”

कसैले भन्यो,“इमान्दार थिए ।”

कोही भन्थे,“जे सोच्थे, त्यो गर्थे ।”

समाजका मान्छेले उसका बुबालाई इमान्दार भन्नुले कमलमा बुबामोह झन् बढ्यो  ।

यी कुरा सुन्दा कमलको मनमा एउटा चित्र बन्न खोज्थ्यो ।

उसले कागजमा चित्र कोर्न खोज्यो तर हातले साथ दिएन । एकदिन उसले आफ्नै दाजु जस्तै देखिने चित्र बनाएर गाउँलेलाई देखायो ।

गाउँलेहरू गलल हाँसे । कमल लजाएर भाग्यो  । घर गएर ढोका ढक्काएर खुब रोयो  ।

केही समयपछि फेरि उसले आफूलाई ऐनामा हेरेर आफ्नो जस्तै देखिने चित्र कोरेर अरुलाई देखायाे  ।

सबैले भने, “तिम्रा बुबा यस्ता थिएनन्  ।” गाउँलेहरूले जिस्क्याए पछि उसले चित्र कोर्न छोड्यो ।

राति सुत्दा ऊ सोच्थ्यो, “यदि म एकपटक सपनामा बुबालाई देख्न पाएँ भने ....”

तर सपनामा पनि बुबा कहिल्यै आएनन् ।

सायद सत्य नै होला  । नदेखिएको अनुहार स्मृतिले पनि बनाउन सक्दैन, सपनाले पनि ।

कहिलेकाहीँ उसले बुबालाई मनमनै कविता सुनाउँथ्यो,

बुबा

तपाईंको अनुहार

कहिल्यै देखिनँ मैले

न तस्बिरमा

न सपनामा

न कसैको शब्दमा ।

नाम मात्रै छ,

त्यो नामले

मेरो मन अझै तातो हुन्छ ।

कल्पनाले कोर्न खोजेँ

तर रेखा भेटिन

सपनामा बोलाउन खोजेँ

रात सकिँदा पनि

आउँदै आउनुहुन्न  ।

बुबा,

तस्वीर छैन

माया भने

पहाडभन्दा अग्लो छ  ।

     एक दिन कमलले आफ्नो बुबाको श्राद्ध गरिरहेको थियो ।श्राद्धको समयमा अरू घरमा पितृको तस्बिर राखिन्थ्यो । कमलको घरमा भने त्यो ठाउँ सधैँ खाली हुन्थ्यो । त्यो खाली ठाउँले उसलाई सबैभन्दा धेरै पोल्थ्यो । किनकि अभावभन्दा ठुलो पीडा रित्तोपनले दिन्छ ,जहाँ केही हुनुपर्ने थियो त्यहाँ केही थिएन  ।

    श्राद्ध सकेर निराश हुँदै सेतो वस्त्रमा रहेकी आमालाई सेतो टिका लगाउँदै वर्षौँदेखि मनमा गुम्सिएको प्रश्न उसले आमासामु राख्यो, “इजा, बुबा कस्तो हुनुहुन्थ्यो ? उहाँलाई के भएको थियो ?” यसपटक आमा मौन रहन सक्नुभएन । मनभारी बनाएर भन्नुभयो, “तिम्रा बुबा असल, मेहनती र इमानदार हुनुहुन्थ्यो । तिमीलाई असाध्यै माया गर्नुहुन्थ्यो । तिमी सानै हुँदा उहाँ बिरामी पर्नुभयो । उपचार गर्ने ठाउँ थिएन, औषधि किन्ने सामर्थ्य पनि थिएन । अन्ततः रोगले उहाँलाई हामीबाट खोस्यो । मर्ने बेलामा पनि उहाँले आफ्नो चिन्ता गर्नुभएन, तिम्रै चिन्ता गर्नुभयो, ‘हाम्रो छोरालाई धेरै माया गर्नू, पढाउनू र असल मान्छे बनाउनू ।” यति भन्दै आमा भक्कानिनुभयो ।

     कमल पनि निःशब्द रोयो । त्यो दिन उसले बुबाको अनुहार त पाएन तर बुबाको माया अवश्य भेट्टायो । आमाका आँसुमा उसले बुबाको प्रेम देख्यो, अन्तिम शब्दमा आफ्नो भविष्यप्रतिको सपना । आमाको हात समातेर उसले भन्यो, “इजा, अब नरुनू । बुबा हामीसँग नभए  पनि उहाँको माया र आशीर्वाद मसँग छ । म छु हजुरको साथमा, हजुरलाई कुनै दुःख पर्न दिनेछैन ।”

     त्यस दिनदेखि कमलले बुबाको तस्बिर खोज्न छोड्यो । उसले बुझ्यो, बुबालाई सम्झन अनुहार चाहिँदैन, उहाँको सपना पूरा गर्ने कर्म चाहिन्छ । बुबाको अन्तिम इच्छालाई आफ्नो बाटो, आमाको आँसुलाई आफ्नो जिम्मेवारी र बुबाको सम्झनालाई आफ्नो प्रेरणा बनाएर ऊ जीवनको यात्रामा अझ दृढ भएर अघि बढ्यो ।

    आमाले  बुबाको बारेमा सबै कुरा भनिसकेपछि कमलको मनमा वर्षौँदेखि बोकेको एउटा भारी बिस्तारै हलुका भयो । उसले अब बुबाको तस्बिर खोजेर हिँड्नु आवश्यक ठानेन । उसले बुझ्यो कि बुबाको अनुहार त उसले देख्न पाएन, तर उहाँको अन्तिम इच्छा भने आफ्नै जीवनको बाटो बनेर उसको अगाडि उभिएको छ । त्यस दिनदेखि कमलले बुबाको तस्बिर होइन, उहाँको सपना खोज्न थाल्यो । पढाइलाई आफ्नो कर्म बनायो, संघर्षलाई आफ्नो साथी र आमाको सुखलाई आफ्नो लक्ष्य ।

     समय निरन्तर बगिरह्यो । कक्षा १० सम्म सधैँ प्रथम हुने कमल अझ मेहनत गर्दै अघि बढ्यो । उसले स्नातक तहसम्मको शिक्षा प्राप्त गर्‍यो  ।  जीवनमा जति कठिनाइ आए, उसले बुबाको अन्तिम वचन सम्झियो,“छोरालाई पढाउनू, असल मान्छे बनाउनू ।” आमाले वर्षौँसम्म लुकाएर राखेका आँसुको मूल्य चुकाउने संकल्प उसले कहिल्यै बिर्सेन । अन्ततः कमल आफै पढेको स्कुलको शिक्षक बन्यो  । उसले आफ्नो मेहनत र कर्मले आमाको जीवनमा सुखको उज्यालो ल्यायो । आमाको अनुहारमा वर्षौँपछि देखिएको त्यो सन्तुष्ट मुस्कान नै कमलका लागि बुबाको सबैभन्दा ठुलो तस्बिर बन्यो ।

अब गाउँमा कसैले कमलको बुबाको तस्बिर देखेको थियो कि थिएन, त्यसको अर्थ रहेन । गाउँका बूढापाकाहरू उसलाई देखाउँदै भन्न थाले,“कमल असल मान्छे बनेछ ।” कसैले उसको इमानदारीको कुरा गर्थे, कसैले मेहनतको, कसैले आमाप्रतिको जिम्मेवारीको । कमल चुपचाप मुस्कुराउँथ्यो । उसलाई लाग्थ्यो,बुबाको तस्बिर नभए पनि उहाँको सपना त गाउँलेहरूको शब्दमा जीवित रहेछ ।

उसले अन्ततः बुबालाई सम्झन फ्रेममा राखिएको तस्बिर चाहिँदैन रहेछ; असल कर्म नै सन्तानले बाबुआमालाई दिने सबैभन्दा सुन्दर तस्बिर रहेछ । बुबाको अनुहार उसले कहिल्यै देखेन, तर आफ्ना कर्ममार्फत बुबाको नामलाई उज्यालो बनाउँदै गयो । अनि आमाको सुखी अनुहार हेर्दै उसले मनमनै भन्यो,“बुबा, तपाईंको तस्बिर त भेटिनँ, तर तपाईंले छोडेर जानुभएको सपना भेट्टाएँ ।”

 

२०८३ वैशाख ८ गते मङ्गलबार 
स्थान: धनगढी-५, कैलाली ( आफ्नै निवास ) 

No comments:

Post a Comment