पहाडको गहिरो खोँचभित्र लुकेको त्यो सानो गाउँ जहाँ समय नै थामिएको थियो। करिब चालिस वर्ष अघिको परिवेशमा न बिजुलीको उज्यालो थियो, न बाटोको सहजता, न पसल, साँझ पर्नासाथ अँध्यारो गाउँमाथि ओत लाग्थ्यो, र दियालोको झिनो ज्योतिमा मानिसहरू आफ्नो थकानसँगै आफ्ना पीडाहरू पनि पोल्थे। कैलाली जिल्लाको चौमालाबाट आठ–दस दिन पैदल हिँडेर ल्याइएको नुनबाहेक अरू सबै कुरा गाउँमै ऐँचोपैँचो गरेर जीवन धानिन्थ्यो। कसैले गोरु पाल्थे, कसैले बाख्रा चराउँथे, कसैले वनबाट कन्दमूल खनेर ल्याउँथे। प्रकृति भने त्यहाँ अपार सुन्दर थियो । बिहान कुहिरोले पहाडका काखमा नाच्थ्यो, खोल्साहरूबाट पानीको मधुर संगीत बग्थ्यो। तर त्यो सुन्दरताको कुनै पनि अर्थ थिएन ।
त्यही गाउँमा जन्मिएको थियो कमल.....। उसको जीवन सुरुदेखि नै कठोर यथार्थको चिसो स्पर्शले घेरिएको थियो। ऊ तीन वर्ष पनि नपुग्दै उसका बुबा बित्नुभयो। माघ महिनाको कठ्याङ्ग्रिने जाडो थियो । आफ्ना पिताको मृत्युको दिनको स्पष्ट सम्झना त उसलाई छैन, तर एउटा धुम्म दृश्य उसको मनमा सधैँका लागि अड्किएर बस्यो, घरको कुनामा बसेकी आमा, हातका चुरा फुकाल्दै गर्दा बगिरहेका आँसु, र त्यो आँसुमा डुबेको एउटा मौन चिच्याहट। त्यस दिनपछि बुबा उसका लागि केवल एउटा शब्द बने, नाम मात्र, कल्पना मात्र, एउटा अधुरो कथाको पात्र जस्तो । घरमा बुबाको तस्बिर थिएन; सायद त्यतिबेला त्यो गाउँले क्यामेराको अनुहारसम्म देखेको थिएन। मानिसहरू सम्झनामा बाँच्थे, तर कमलसँग सम्झनासमेत थिएन।
गाउँमा भनिन्थ्यो,“बाउको छायाँ मिल्यो भने छोराको बाटो उज्यालो हुन्छ।” तर कमलको बाटो सधैँ घामछाँयामा डुलिरह्यो। उसको बाल्यकाल अभाव, दुःख र गरिबीको धुलोमा हरायो। कमललाई पिताको ममता र अभिभावकत्व मृगतृष्णा झैँ भयो। बिहानै आमा उठ्नुहुन्थ्यो। कोदोको रोटी पकाउनुहुन्थ्यो, थोरै नुन तरकारीका रूपमा दिनुहुन्थ्यो। त्यो नै उसको दिनभरको खाना हुन्थ्यो। उसँग फाटेको लुगा, च्यातिएको चप्पल, र पेटभरि खान पाए हुन्थ्यो भन्ने आँखामा पवित्र सपना बाहेक अरु केही थिएन ।
पढ्ला भनेर त होइन, घरमा काम गर्न सजिलो हुन्छ भनेर कमललाई आमाले नजिकैको स्कुल पठाइदिनुहुन्थ्यो । कमल रुँदै रुँदै स्कुल जान्थ्यो । बिस्तारै अक्षरहरूले उसलाई बाँध्यो। ती अक्षरहरू उसलाई नयाँ संसारका ढोका जस्ता लाग्न थाले। केही दिनपछि ऊ आफैँ भन्न थाल्यो,“इजा, म स्कुल जान्छु।”
स्कुल जाँदा साथीहरूले गिज्याउँथे,“फाटेको लुगा लगाएर आएको भनेर।” प्रहार गरिएका फिक्का शब्दहरू साना थिए, तर चोट गहिरो थियो। कमल भने चुपचाप सहन्थ्यो। मनभित्र कताकता एउटा प्रश्न उठ्थ्यो, “यदि बुबा हुनुभएको भए ?” तर त्यो प्रश्नको उत्तर दिने कोही थिएन। गाउँको सानो स्कुलमा पाँच कक्षासम्म पढेपछि छ कक्षादेखि पढ्न अर्को स्कुल पुग्न दुई घण्टा हिँड्नुपर्थ्यो। त्यसैले डेरा गरेर बस्नुपर्ने थियो। शुक्रबार घर फर्किने, फेरि हप्ताभरिको सामल बोकेर स्कुलतिर फर्किनुपर्थ्यो।
उसको पढाइ राम्रो थियो। शिक्षकहरू भन्थे,“यो केटो पढ्नमा राम्रो छ।” गाउँका मान्छेहरु पनि भन्थे, " यो मूल्या पड्डामी निगो छ।" तर घरमा आमा एक्लै थिइन् । खेती, पशुपालन, घरधन्दा सबै उहाँकै काँधमा। उहाँ आफैँ अक्षर नचिन्ने हुनुहुन्थ्यो, तर छोराको शिक्षामा कहिल्यै अवरोध बन्नुभएन। आमाको माया डाँडाभन्दा अग्लो हुन्छ भन्ने भनाइ कमलको जीवनमा साक्षात् देखिन्थ्यो।
तर कमलको मनभित्र एउटा खालीपन सधैँ जिउँदो थियो ,बुबाको अनुहार नदेखेको पीडा....। कमल बुबाको बारेमा आमालाई पटक पटक खोजिरहन्थ्यो । तर आमा केही नबोली बस्नुहुन्थ्यो । जब धेरै सोधेर सताउँथ्यो तब केही नबोलिकन आमा उठेर अन्तै जानुहुन्थ्यो ।
एकदिन उसले गाउँका बूढापाकासँग सोध्यो,“मेरा बुबा कस्ता हुनुहुन्थ्यो?”
कसैले भन्यो,“तिम्रा बुवा तिमीभन्दा गोरा र बलिया थिए।”
कोही भन्थे, “नुन लिन जाँदा हामीभन्दा बढी ल्याउँथे।”
कसैले भन्यो,“राम्रा थिए।”
कसैले भन्यो,“इमान्दार थिए।”
कोही भन्थे,“जे सोच्थे, त्यो गर्थे।”
यी कुरा सुन्दा कमलको मनमा एउटा चित्र बन्न खोज्थ्यो।
उसले कागजमा चित्र कोर्न खोज्यो। तर हातले साथ दिएन। एकदिन उसले आफ्नै दाजु जस्तै देखिने चित्र बनाएर गाउँलेलाई देखायो।
गाउँलेहरू गलल हाँसे।
अर्को दिन उसले आफूलाई ऐनामा हेरेर आफ्नाे जस्तै देखिने चित्र कोरेर अरुलाई देखायाे ।
सबैले भने, “तिम्रा बुवा यस्ता थिएनन्।”
त्यो हाँसो कमलको मनमा दुःखको चिरा परेजस्तै भयो।
त्यसपछि उसले चित्र कोर्न छोड्यो।
तर कल्पना भने कहिल्यै छोडेन।
राति सुत्दा ऊ सोच्थ्यो, “यदि म एकपटक सपनामा बुवालाई देख्न पाएँ भने ?”
तर सपनामा पनि बुवा कहिल्यै आएनन्।
सायद सत्य नै होला । नदेखिएको अनुहार स्मृतिले पनि बनाउन सक्दैन, सपनाले पनि।
कहिलेकाहीँ उसले बुबालाई मनमनै कविता सुनाउँथ्यो,
बुवा,
तपाईंको अनुहार
कहिल्यै देखिनँ मैले,
न तस्बिरमा,
न सपनामा,
न कसैको शब्दमा नै।
नाम मात्रै छ,
तर त्यो नामले
मेरो मन अझै तातो हुन्छ।
कल्पनाले कोर्न खोजेँ,
तर रेखा भेटिन,
सपनामा बोलाउन खोजेँ,
रात सकिँदा पनि
आउँदै आउनुहुन्न ।
बुबा,
तस्वीर छैन,
स्मृति छैन,
तर माया भने
पहाडभन्दा अग्लो छ।
श्राद्धको समयमा अरू घरमा पितृको तस्बिर राखिन्थ्यो। कमलको घरमा भने त्यो ठाउँ सधैँ खाली हुन्थ्यो। त्यो खाली ठाउँ उसलाई सबैभन्दा धेरै पोल्थ्यो। किनकि कहिलेकाहीँ अभावभन्दा ठुलो पीडा खालीपन हुन्छ,जहाँ केही हुनुपर्ने थियो, तर केही छैन।
समय बित्दै गयो। कमल कक्षा १ देखि १० सम्म सधैँ प्रथम भयो। जीवनले उसलाई बलियो बनाउँदै गयो । आमाले आँसु लुकाएर छोराको भविष्य सिँचिरहनुभयो । कमल पढेर आमालाई सुख दृढ संकल्पका साथ अगाडि बढ्यो।
अन्ततः कमलले बुझ्यो, बुबाको तस्बिर उसले कहिल्यै भेटेन। धेरै खोज्यो, धेरै आशा गर्यो, तर हातमा केही परेन। तर समयसँगै उसले एउटा गहिरो सत्य महसुस गर्यो तस्बिर नहुँदैमा सम्बन्ध हराउँदैन, अनुहार नदेखिँदैमा माया मर्दैन।
उसले चित्त बुझायो, बुबा कागजको तस्बिरमा होइन, आफ्नै मनभित्र जीवित छन्। आमाको संघर्षमा, आफ्ना सपना र हिम्मतमा, बुबाको उपस्थिति उसले अनुभूति गर्न थाल्यो। बुबाको स्वर उसले कहिल्यै नसुने पनि, हरेक कठिनाइमा “अगाडि बढ” भन्ने अदृश्य आवाज उसले महसुस गर्यो।
त्यसपछि कमलले आफ्नो जीवनको गन्तव्यतर्फ अघि बढ्ने निर्णय गर्यो। बुबाको सम्झनालाई कुनै तस्बिरमा होइन, आफ्नो कर्ममा उतार्ने संकल्प गर्यो। मनभित्र एउटा अदृश्य चित्र बोकेर प्रेमले भरिएको, पीडाले सिञ्चिएको र आशाले उज्यालोका साथ निरन्तर अगाडि बढिरह्यो।
अब उसका लागि बुबा केवल सम्झना मात्र होइनन्, प्रेरणा हुन्। एउटा यस्तो प्रेरणा, जसले उसलाई कहिल्यै थाक्न दिँदैन, कहिल्यै रोक्न ।

No comments:
Post a Comment