हरियो अक्षरको कविता - Harka Bohara

नयाँ

Friday, May 8, 2026

हरियो अक्षरको कविता



माटोमा सागसब्जी मात्र उम्रिँदैन,
समयको शिरा–शिरामा हरियाली बगिरहन्छ;
धरती माताको छातीमा जीवन निरन्तर धड्किरहन्छ।
बिउ, त्यो सानो मौन कण
जसले अँध्यारो चिरेर उज्यालो लेख्छ,
जसले शून्यबाट सृष्टि जन्माउँछ,
र भन्छ,
धैर्य नै जीवनको पहिलो पाठ हो।
यो बारी भोक मेटाउने साधन मात्र होइन,
चेतनाको एक पवित्र पाठशाला हो
यहाँ आँखाले हरियो अक्षर पढ्छ,
मनले शान्ति लेख्छ,
र आत्माले तृप्तिको अमृत पिउँछ।
हरेक पात एक श्लोक हो,
पुरै बारी सुन्दर कविता हो ।

सहरको कोलाहलले थिचिएको यो युगमा,
करेसाबारी  मौन विद्रोह हो
अस्वस्थताविरुद्ध, कृत्रिमताविरुद्ध,
र विस्मृतिप्रति एक गहिरो प्रश्न हो ।

हामीले थाल बदल्यौँ,
तर स्वाद हरायौँ;
हामीले समय बचायौँ,
तर स्वास्थ्य गुमायौँ।
अब फर्किने बेला भएको छ,
माटोतिर, पसिनातिर, जीवनतिर।

आफ्नो आँगनमा सानो बारी रोपौँ,
आफ्नो हातले हरियो सपनाहरू उमारौँ,
जैविक पोषण बजारमा होइन,
माटोको काखमै पाइन्छ
जहाँ नजरले खान्छ,
मनले बाँच्न सिक्छ। 

२०८३ वैशाख २१ गते  





No comments:

Post a Comment