उज्यालो रोप्ने हातहरू - Harka Bohara

नयाँ

Friday, May 8, 2026

उज्यालो रोप्ने हातहरू



कक्षाको निस्तब्ध उज्यालोभित्र
एक आकृति उभिएको छ
दीप विहीन, तर आलोकले भरिएको,
जहाँ शब्दहरू स्वयं ज्योति बनेर
अन्धकारको नाडी छामिरहेका छन्।

ती शब्दहरू,
धूलो झरेका किरणझैँ,
नानीहरूका निर्दोष आँखामा ओर्लन्छन्,
र ,
अदृश्य क्षितिजतिर फर्किएका
सपना एकाएक उज्यालिन थाल्छन्।
कक्षा सूक्ष्म घेराभित्र सीमित देखिए पनि,
त्यसको सासभित्र समयभन्दा विशाल
भविष्यको स्पन्दन लुकेको छ।

हरेक वाक्य
केवल ध्वनि होइन,
माटो खोज्दै हिँडेको बिउ हो
जो भोलिको गर्भमा उम्रन आतुर छ।
शिक्षक बोल्छन्,
तर शब्दभन्दा गहिरा
मौन भावहरू बोलिरहेका हुन्छन्
आचरणका सूक्ष्म सङ्केतहरूमा,
धैर्यका लीन लहरहरूमा,
विश्वासका अदृश्य आधारहरूमा
गुरु स्वयंम् पनि यात्रु हुन्
क्षण क्षणमा भत्किँदै,
पुनः निर्मित हुँदै,
सिकाइका असंख्य नदीहरू पार गर्दै
माझी बनेर हिँडिरहेका हुन्छन् ।

शिक्षकहरू
आफ्ना इच्छाहरूभन्दा माथि उठेर
विद्यार्थीका भविष्यमा समर्पित हुन्छन्।
 थकित आँखाभित्र पनि
शिष्यका सपनाहरूमा उज्यालो खोजिरहेका हुन्छन्।
सोचका परिधिहरू विस्तारिन्छन्,
सिपहरू नयाँ रूपकमा ढल्छन्,
र सीमाहरू,
आफैंभित्रका पुराना किल्लाहरू,
चुपचाप ढल्न थाल्छन्
तर कसैले देख्दैन । 
जब शिक्षक बदलिन्छन्,
समाजको गहिराइमा
अनेकौं कम्पनहरू जन्मिन्छन्।
भविष्यहरूको सपना
अझ दृढ हुन्छ,
र त्यही सपनाले
देशको नियति पुनर्लेखन गर्छ।

उज्यालो
सधैं गर्जँदैन,
प्रायः मौनमै फैलिन्छ।
त्यसको कुनै आवाज हुँदैन,
तर त्यसको प्रभाव
समयले साक्षी राख्छ।

शिक्षक आगो होइनन्,
तर अविरल दिप्ति हुन्।
न निभ्ने,
न थाक्ने,
न समयसँग हार मान्ने।
शिक्षकहरू
शब्दहरू रोपिरहन्छ,
उज्यालो बाँडिरहन्छन्,
र सयौँ शिष्यहरूका
भविष्य अनन्त लेखिरहन्छन् ।

अस्तु
२०८३ चैत १५ गते मङ्गलबार ( तेघरी, कैलाली)

No comments:

Post a Comment