म हराएको छैन (कविता) - Harka Bohara

नयाँ

Monday, July 13, 2026

म हराएको छैन (कविता)



कसैले भन्यो,
भानुभक्त बिते।
म मुस्कुराएँ।
शरीर बित्यो।
शब्द बितेन।
समय बित्यो।
सन्देश बितेन।
नेपाल आमा!

म त तिम्रो पहिलो नेपाली स्वर हुँ।
तिम्रै माटोमा उम्रिएको विश्वास।
तिम्रै भाषामा फक्रिएको फूल।
कसैले मलाई समाधिमा खोज्छ।
कसैले पुस्तकमा।
कसैले तस्वीरमा।
कसैले इतिहासमा।
तर म त्यहाँ मात्र छैन।
म त त्यो बालकको औँलामा छु,
जसले पहिलोपटक 'अ' लेख्छ।
म त्यो आमाको स्वरमा छु,
जसले आफ्ना सन्तानलाई नेपाली लोरी सुनाउँछे।
म त्यो शिक्षकको विश्वासमा छु,
जसले अक्षरलाई उज्यालो बनाउँछ।
म त्यो विद्यार्थीको सपनामा छु,
जसले आफ्नो भाषा पढेर भविष्य देख्छ।

नेपाल आमा!
एक समय
भाषा मौन थिई।
शब्दहरू बोल्न खोजिरहेका थिए।
भावनाहरू अभिव्यक्ति खोजिरहेका थिए।
त्यही बेला
तिमीले मेरो हातमा कलम थमाइदियौ।
मैले संस्कृतको रामायणलाई
सरल र मिठो नेपाली भाषामा घरघर पुर्‍याएँ।
त्यसपछि
शब्दहरू मुस्कुराए।
अक्षरहरू फक्रिए।
गाउँ बोले।
सहर बोले।
हिमाल बोले।
तराई बोले।
नेपाल आफ्नै भाषामा बोल्न थाल्यो।
म भानुभक्त मात्र रहिनँ।
म नेपाली भाषाको उज्यालो बनेँ।
राष्ट्रको आत्मविश्वास बनेँ।

आज
मेरो शरीर छैन।
तर मेरो आवाज बाँचेको छ।
मेरो चेतना बाँचेको छ।
विद्यालयका पाठमा छ।
कविताका हरफमा छ।
हरेक नेपालीको हृदयमा छ।
नेपाल आमा!
भाषा केवल बोल्ने माध्यम होइन।
यो अस्तित्व हो।
पहिचान हो।
स्वाभिमान हो।
भाषा बाँचे
सभ्यता बाँच्छ।
संस्कार बाँच्छ।
राष्ट्र बाँच्छ।
त्यसैले
भाषालाई माया गर।
साहित्यलाई सम्मान गर।
संस्कारलाई जोगाऊ।
यदि कहिल्यै लागे
भानु हराए।
कुनै विद्यालयमा गएर हेर्नू।
कुनै बालकले नेपाली पढिरहेको हुनेछ।
कुनै शिक्षकले कविता सुनाइरहेको हुनेछ।
त्यहीँ म हुनेछु।
किनकि
म एउटा मानिस मात्र होइन।
म एउटा चेतना हुँ।
म नेपाली भाषाको आत्मा हुँ।
र,
जबसम्म नेपाली जिब्रोले नेपाली बोल्छ,
जबसम्म नेपाली मुटुले नेपाललाई माया गर्छ,
त्यतिबेलासम्म
म हराउने छैन। 

लेखक : मधुसूदन बोहरा
(२०८३ असार २७ गते २१३ औँ भानु जयन्तीको अवसरमा आयोजित कविता प्रतियोगितामा चैतन्य पाठशालामा छोराले वाचन गरेको कविता )

No comments:

Post a Comment