पूर्णिमाको जूनझैँ
शीतल उज्यालो छर्ने
घरको प्रत्येक कुनामा
आशा र विश्वासको दीप बाल्ने
त्यो दिव्य ज्योति
मेरी आमा।
चार बिस हिउँद पार गर्दै
जीवनका असङ्ख्य आँधीहरूलाई
मुस्कानकै ओढनीले छोप्दै,
पीडासँग मितेरी गाँसेर
दुःखलाई आफ्नै भाग्य सम्झेर
सुख सन्तानका निम्ति साँचेर राख्ने
त्यो विराट धैर्यको मूर्ति
मेरी आमा।
मेरी आमाको काखमा
कुन्तीको त्याग छ,
यशोदाको वात्सल्य छ,
सीताको सहनशीलता छ,
पार्वतीको तपस्या छ।
इभको जीवनबीज,
भेनसको सौन्दर्यचेत,
मायादेवीको करुणामय आभा
सबै गुण एकै स्वरूपमा समेटिएकी
धन्य छिन्, मेरी आमा।
कहिल्यै देखिनँ
निराशाका बादलले ढाकेको अनुहार
औषधिका पोका बोकेर
आफ्ना पीडाको व्यापार गरिनन्।
शरीर थाक्यो होला,
तर आत्मा कहिल्यै थाकेन।
दुःखका पहाडहरू
उनले मौनताकै काँधमा बोकिन्।
पढाइ छोड्न भनिनन्,
कामदेखि भाग्न सिकाइनन्।
कम्मरमा पटुका कस्दै
परिश्रमलाई पूजा ठानिन्।
सत्यलाई जीवनको मेरुदण्ड बनाइन्,
इमानलाई सम्पत्ति,
आत्मबललाई अस्त्र,
र आदर्शलाई सन्तानको उत्तराधिकार।
आज म जे छु,
आमाको असंख्य निद्राविहीन रातहरूको प्रतिफल हो।
मेरा प्रत्येक सफलताभित्र
आमाको मौन प्रार्थना धड्किरहेको छ।
बाबा हुँदा
घर आँगनमा
सूर्यको उज्यालो झर्थ्यो रे।
हाँसोका सुनगाभाहरू
मनभरि झुल्थे रे।
बाबाको उपस्थितिले
जीवन आफैँ उत्सव बन्थ्यो रे।
तर,
समयले निर्दयी भएर
बाबालाई अनन्त यात्रामा पठायो।
घरको एउटा आकाश रित्तियो,
आँगनको एउटा जून अस्तायो।
त्यसपछि
घर भत्किन दिएनन् आमाले।
आँसु आँखाभित्रै थुनिन्,
वेदनालाई मुटुभित्रै गाडिन्,
आफ्नो पीडा लुकाएर
हाम्रो भविष्य उज्यालो बनाइरहिन्।
उनी कहिल्यै हारिनन्।
भाग्यसँग झुकिनन्।
विपत्तिसँग सम्झौता गरिनन्।
आफ्नो दुःखभन्दा
सन्तानको मुस्कानलाई ठुलो ठानिन्।
आज म
आकाशतिर हेरेर
बाबालाई सम्झन्छु,
धरतीतिर हेरेर
आमालाई प्रणाम गर्छु।
किनकि
भगवानले यदि
ममताको मूर्ति बनाउन खोजेका हुन् भने,
त्यसको नाम आमा हो।
यदि त्यागको अर्को नाम छ भने,
त्यो आमा हो।
यदि प्रेमको कुनै अन्तिम परिभाषा छ भने,
त्यो पनि आमा नै हो।
धन्य छिन् मेरी आमा।
धन्य छ आमाको संघर्ष।
धन्य छ आमाको ममता।
र धन्य छु म,
८२ औँ बसन्तसम्म
आमा भनेर पुकार्न पाएको छु।
पुनर्लेखन : २०८३ श्रावण ९ गते शनिबार
स्थान : धनगढी- ५,शिवनगर, कैलाली

No comments:
Post a Comment