गुरु दुई अक्षरको शब्द मात्र होइन,
यो ब्रह्माण्डको उज्यालो हो,
अज्ञानको अन्धकार चिरेर
चेतनाको सूर्य उमार्ने
अनश्वर दीपशिखा हो।
देवताले स्वर्गको बाटो देखाउँछन्,
तर गुरुले
मानिसभित्र लुकेको देवत्व देखाइदिन्छन्।
मेरो विनय प्रार्थना छ
म गुरुको निष्ठावान् शिष्य
र
आफ्ना शिष्यहरूको साँचो गुरु बन्न सकूँ।
हिजो म पनि एउटा निरीह बालक थिएँ,
'क' को आकारसँगै काँप्ने औँलाहरू लिएर
अक्षरको पहिलो पाइला टेक्दै थिएँ।
त्यही बेला
गुरुले मेरो हात समात्नुभयो
मसीलाई मन्त्र बनाउनुभयो,
अक्षरलाई आत्मा बनाउनुभयो,
र ज्ञानको निलो आकाश
मेरा आँखाभित्र रोपिदिनुभयो।
आज पनि
ती गुरुका पाउलाका डोबहरू
मेरो हृदयको माटोमा
गङ्गाजलझैँ पवित्र छन्।
वर्णमालाको चौतारीदेखि
विश्वविद्यालयको विशाल सभामञ्चसम्म
अनेकौं शिक्षालयका ढोकाहरू ढकढक्याएँ।
हरेक विद्यालयले
मलाई एउटा नयाँ जन्म दियो।
हरेक गुरुले
मेरो आत्माको क्यानभासमा
ज्ञानको नयाँ इन्द्रेणी कोरिदिनुभयो।
आज म जे छु,
जहाँ उभिएको छु
त्यो मेरो सफलताको इतिहास होइन,
मेरा गुरुहरूको आशीर्वादको महाकाव्य हो।
अढाई दशकदेखि
म पनि
चकमन्न कक्षाकोठामा उभिन्छु।
हातमा मार्कर हुन्छ,
आँखामा हजारौँ भविष्य हुन्छन्।
कलम चलाउँछु,
प्रत्येक अक्षरसँगै
कुनै न कुनै सपनाको धड्कन लेखिरहेकै हुन्छु।
तर हरेक साँझ
मेरो आत्माले मलाई सोध्छ,
के तिमी केवल तलब खाने शिक्षक भयौ?
कि कसैको जीवन बदल्ने गुरु पनि भयौ?
यिनै प्रश्नसँगै
म आफैँलाई हरेक दिन पढिरहेछु।
गुरुले जीवन बुझाउँछन्।
प्रश्न गर्न सिकाउँछन्।
सङ्घर्ष जिताउँछन्।
चरित्र निर्माण गर्छन्।
पहिचान दिन्छन्।
गुरुले युग निर्माण गर्छन्।
प्रिय शिष्यहरू,
तिमीहरू मेरा सुनौला सपना हौ।
मेरो विश्वास हौ।
मेरो भविष्य हौ।
मेरो देशको उदाउँदो सूर्य हौ।
यदि कुनै दिन
अन्यायको अगाडि तिमीहरू निर्भीक उभियौ,
मानवताका पक्षमा आवाज उठायौ,
आमाको आँसु पुछ्यौ,
र देशको शिर उँचो बनायौ भने
त्यही दिन
मेरो गुरुदक्षिणा पूर्ण हुनेछ।
गुरुको कर्म
पाठ्यपुस्तक पढाउनु मात्र होइन
कसैको आँसु पुछ्नु हो।
लडेको विद्यार्थीलाई
आफ्नो काँध थापिदिनु हो।
आफ्नो निद्रा बेचेर
अरूको भविष्य किनिदिनु हो।
आफ्नो जीवन गलाएर
अरूको बाटो उज्यालो पार्ने
दीप बन्नु हो।
मलाई धन चाहिएको छैन।
प्रसिद्धि चाहिएको छैन।
म त केवल
यति मात्र चाहन्छु
कुनै दिन,
वर्षौँपछि,
एउटा विद्यार्थी
भीड चिरेर आइदियोस्,
आँखा रसाइरहेको होस्,
र यति मात्र भनिदियोस्
गुरु बा,
तपाईंले एक दिन भन्नुभएको एउटा वाक्यले
मेरो सम्पूर्ण जीवन बदलिदियो।
त्यही क्षण
मेरो सम्पूर्ण साधना सफल हुनेछ।
गुरु मेरो शिरको मुकुट हो।
म उहाँहरूको आशीर्वाद हो ।
मेरो यात्राको ध्रुवतारा हो।
जबसम्म
यो मुटु धड्किन्छ,
यो हातमा कलम बाँच्छ,
र यो आँखामा विद्यार्थीको सपना झल्किन्छ,
तबसम्म
म केवल पदको शिक्षक भएर होइन,
हृदयको गुरु भएर बाँच्नेछु।
किनकि
शिक्षक हुनु पेशा हो,
तर गुरु हुनु तपस्या हो।
म गुरुको निष्ठावान् शिष्य
र
आफ्ना शिष्यहरूको साँचो गुरु बन्न सकूँ।
जय गुरु !
रचना मिति : २०८३ श्रावण १२ गते मङ्गलबार
स्थान: सैनिक स्कुल, तेचरी, कैलाली

No comments:
Post a Comment