बिहान विद्यालयको घण्टी बज्छ।
विद्यार्थीहरू कक्षाकोठामा प्रवेश गर्छन्। कसैका आँखामा ठुला सपना हुन्छन्,
कसैलाई
आफ्नो भविष्यको बाटोसमेत स्पष्ट हुँदैन। यही विविध सम्भावना बोकेका
विद्यार्थीहरूको बिचमा पाठ पढाउँदै, गल्ती सच्याउँदै,
संस्कार
सिकाउँदै र भविष्यको बाटो देखाउँदै शिक्षक उभिन्छन्।बाहिरबाट सामान्य देखिने यही
कक्षाकोठामा वास्तवमा भविष्यका अनेक सम्भावनाहरू आकार लिइरहेका हुन्छन्।
शिक्षकले पढाएका पाठ र लेखेका
अक्षर समयसँगै बिस्मृत हुन्छन् तर उनले विद्यार्थीको मनमा रोपेको ज्ञान,
अनुशासन,
संस्कार,
आत्मविश्वास
र जिम्मेवारीबोध जीवनभर रहन्छ। शिक्षकले विद्यार्थीलाई जीवनका चुनौती सामना गर्न
सक्ने र समाजप्रति जिम्मेवार नागरिक बनाउँछन्।
आज शिक्षकको अगाडि बसेर सिकिरहेको
विद्यार्थी नै भोलि सैनिक, चिकित्सक,
इन्जिनियर,
वैज्ञानिक,
प्रशासक,
उद्यमी,
शिक्षक
वा राष्ट्रको नेतृत्व गर्ने व्यक्ति बन्न सक्छ। त्यसैले कक्षाकोठाको प्रभाव परिवार,
समाज
हुँदै राष्ट्रको भविष्यसम्म फैलिन्छ। यस
सन्दर्भमा शिक्षक राष्ट्रनिर्माणका मौन अभियन्ता हुन् । शिक्षकको योगदानको चर्चा कम होला तर शिक्षकले निर्माण
गरेको पुस्ताको प्रभाव पुस्तौँसम्म देखिइरहन्छ।
यसो पनि भनिन्छ,
एउटा
असल शिक्षकले एउटा विद्यार्थी मात्र बनाउँदैन; उसले
एउटा परिवारको भविष्य, एउटा समाजको चरित्र र अन्ततः एउटा
राष्ट्रको दिशा निर्माण गर्छ।
शिक्षाभन्दा ठुलो कुरा : असल
नागरिक निर्माणः
शिक्षालाई पाठ्यपुस्तक पढाउने, परीक्षा
लिने र प्रमाणपत्र दिने प्रक्रियाका रूपमा बुझ्नु यसको वास्तविक अर्थलाई साँघुरो
बनाउनु हो। शिक्षा मानिसलाई ज्ञानवान्, विवेकशील,
जिम्मेवार,
अनुशासित
र असल नागरिक बनाउने प्रक्रिया हो।
विद्यार्थीले गणित,
विज्ञान,
भाषा,
इतिहास
र भूगोल सिक्छ; तर त्यसभन्दा महत्वपूर्ण रूपमा उसले सत्य
बोल्न, समयको सम्मान गर्न,
अरूको
विचार सुन्न, फरकपनलाई स्वीकार गर्न,
आफ्नो
कर्तव्य पूरा गर्न र कठिन परिस्थितिमा पनि सही बाटो रोज्न सिक्नुपर्छ। शिक्षकले “समयमै आऊ”
भन्दा
समयपालन, “आफ्नो काम आफैँ गर”
भन्दा
आत्मनिर्भरता, “अरूलाई सम्मान गर” भन्दा
मानवता र “गल्ती भयो भने स्वीकार गर”
भन्दा
नैतिक साहस सिकाइरहेका हुन्छन्। “देशलाई माया गर”
भन्ने
शिक्षाले राष्ट्रप्रतिको जिम्मेवारीबोध जगाउँछ। अत : शिक्षकले पाठ मार्फत
विद्यार्थीलाई जीवन पढाउँछन्।
विद्यालय वास्तवमा राष्ट्र
निर्माणको पहिलो प्रयोगशाला हो। कक्षाकोठामा अनुशासन सिकिन्छ,
खेलमैदानमा
सहकार्य र नेतृत्वको भावना विकास हुन्छ, प्रयोगशालामा
जिज्ञासा र अनुसन्धानको संस्कार जन्मिन्छ, सामाजिक
गतिविधिबाट सेवाभाव विकसित हुन्छ र शिक्षकको व्यवहारबाट मानवता सिकिन्छ। यसरी विद्यालयले विद्यार्थीलाई समाज र राष्ट्रका लागि तयार गर्छ।
ज्ञानले मानिसलाई सक्षम बनाउँछ भने
चरित्रले उसलाई सही दिशामा हिँडाउँछ। आजको प्रतिस्पर्धाको युगमा उच्च जिपिए,
उत्कृष्ट
डिग्री, आधुनिक प्रविधिको ज्ञान र विश्वस्तरमा
प्रतिस्पर्धा गर्न सक्ने क्षमता आवश्यक छन्। तर यी उपलब्धिसँगै इमानदारी,
अनुशासन,
संवेदनशीलता
र जिम्मेवारीबोध जस्ता सद्गुण छैनन् भने ज्ञान र सफलताले समाजका लागि अपेक्षित
परिणाम दिन सक्दैनन् ।
त्यसैले शिक्षकको सफलता
विद्यार्थीको नतिजा मात्र होइन, उसको व्यवहार,
संस्कार,
चरित्र
र समाजप्रतिको जिम्मेवारीबोधमा खोजिनुपर्छ। अन्ततः शिक्षाको सबैभन्दा ठुलो उपलब्धि
असल, इमान्दार र जिम्मेवार नागरिक निर्माण गर्नु हो।
अनुशासन र सैनिक महाविद्यालयको सन्दर्भ :
भद्र र शालीन व्यवहार अनुशासन हो ।
अनुशासन
आत्मबोध, कर्तव्यनिष्ठा र जिम्मेवारीबाट विकसित
हुन्छ। समयको मूल्य बुझ्नु, निर्धारित
जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नु, परिस्थितिअनुसार
आफूलाई संयमित राख्नु, त्रुटिबाट सिक्नु र अरूको अधिकार
तथा मर्यादाको सम्मान गर्नु आदि अनुशासित जीवनका आधार हुन्। अनुशासनले व्यक्तिको
आत्मविश्वास, धैर्य र निर्णयक्षमताको प्रचुर विकास
गर्छ। कुनै पनि विद्यार्थी/ व्यक्ति आफ्नो नामभन्दा अनुशासनबाट चिनिनुपर्छ ।
सैनिक महाविद्यालयहरुको परिवेशमा
अनुशासनको यो अवधारणा अझ व्यापक र व्यवहारमुखी छ। यहाँ अनुशासन जीवनशैलीकै एउटा
अभिन्न हिस्साका रुपमा लिइन्छ। बिहानदेखि साँझसम्मको नियमित दिनचर्या,
शारीरिक
अभ्यास, अध्ययन, खेलकुद,
सामूहिक
गतिविधि र दैनिक व्यवहारका माध्यमबाट विद्यार्थीले समय व्यवस्थापन,
आत्मनियन्त्रण,
सहकार्य,
नेतृत्व
र चुनौती सामना गर्ने क्षमता क्रमशः विकास गर्छ। यसले विद्यार्थीलाई सुविधा र
कठिनाइ दुवै परिस्थितिमा आफ्नो दायित्वप्रति दृढ रहन सिकाउँछ।
सैनिक महाविद्यालयहरुमा
शिक्षकहरुको अनुशासनको भूमिका पनि विशिष्ट छ। शिक्षक विषयवस्तुको ज्ञान प्रदान
गर्ने व्यक्ति मात्र नभई विद्यार्थीको व्यवहार, सोच र
कार्यशैलीलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने मार्गदर्शक हुन्। विद्यार्थीको
क्षमता पहिचान गरी त्यसलाई अनुशासन, नेतृत्व,
आत्मनिर्भरता
र सेवाभावसँग जोड्नु शिक्षकको महत्वपूर्ण दायित्व हो। यसका लागि सिकाइ सहजीकरण
विद्यार्थीको व्यवहार र जीवनसँग सम्बन्धित हुन आवश्यक छ भन्ने तथ्यमा सैनिक
महाविद्यालयका शिक्षकहरू ज्यादै जानकार
छन्।
हरेक विषयले विद्यार्थीको
व्यक्तित्व निर्माणमा आ–आफ्नो योगदान दिन्छ।
साहित्यले संवेदना र मानवता विस्तार गर्छ, इतिहासले
विगतबाट सिक्दै वर्तमानप्रतिको जिम्मेवारीबोध गराउँछ, विज्ञानले
प्रश्न गर्ने र खोजी गर्ने संस्कार विकास गर्छ, गणितले
तर्क र विश्लेषणको क्षमता बढाउँछ भने सामाजिक अध्ययनले व्यक्ति,
समाज
र राष्ट्रबिचको सम्बन्ध बुझ्न सहयोग गर्छ। यसरी विषयगत सिकाइलाई जीवनोपयोगी
मूल्यसँग जोड्दा शिक्षा अझ सार्थक बन्छ। यो पनि अनुशासनको एउटा महत्वपूर्ण पाटो
हो।
सैनिक स्कुलहरूले निर्माण गर्न
खोजेको विद्यार्थी आफ्नो ज्ञान,
सिप
र क्षमतालाई राष्ट्र तथा समाजको हितमा प्रयोग गर्न सक्ने सक्षम नागरिक हुनुपर्दछ ।
विद्यार्थीमा राष्ट्रप्रेम र समाज प्रेम
दैनिक आचरण र कर्मबाट प्रमाणित हुन्छ। आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा
गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु,
गलत
प्रवृत्तिको विरोध गर्नु, वातावरणप्रति
संवेदनशील हुनु, आवश्यकतामा अरूको सहयोग गर्नु र आफ्नो
क्षमतालाई सामूहिक हितमा समर्पित गर्नु नै व्यवहारमा देखिने राष्ट्रसेवा हो।
यस्तो नागरिक चेतना र कर्मशील
संस्कारको विकासमा सैनिक स्कुलहरूले महत्वपूर्ण आधार प्रदान गर्छ,
र
त्यस आधारलाई सही दिशा दिने कार्यमा शिक्षकको अनुशासित भूमिका निर्णायक रहेको
देखिन्छ ।
शिक्षकको बदलिँदो भूमिका :
आजका विद्यार्थी सूचना र प्रविधिको
तीव्र विकाससँगै हुर्किरहेको छ। मोबाइल, इन्टरनेट,
सामाजिक
सञ्जाल र कृत्रिम बौद्धिकता (AI) विद्यार्थीको
सिकाइ र दैनिक जीवनका अभिन्न हिस्सा बनिसकेका छन्। यो डिजिटल युगमा शिक्षक मात्र
ज्ञानको एकमात्र स्रोत होइनन् , शिक्षक ज्ञानलाई
सही दिशामा प्रयोग गर्न सिकाउने मार्गदर्शक, सहजकर्ता
र प्रेरक बन्नुपर्नेछ ।
शिक्षकले विद्यार्थीलाई के जान्ने ?, कसरी सोच्ने ? , सूचनाको
सत्यता कसरी पहिचान गर्ने ?”, प्रविधिको
जिम्मेवार प्रयोग कसरी गर्ने ? र
ज्ञानलाई मानवहितमा कसरी उपयोग गर्ने ? भन्ने कुरा सिकाउन आवश्यक छ। प्रविधिले
सूचना र कृत्रिम बौद्धिकता (AI) ले उत्तर दिन सक्छ,
तर
विवेक, नैतिकता, संवेदना
र सही निर्णय गर्ने क्षमता विकास गराउने जिम्मेवारी शिक्षककै हो।
त्यसैले समयानुकूल शिक्षक स्वयम्
पनि प्रविधिमैत्री, सिर्जनशील र निरन्तर सिकिरहने
हुनुपर्छ। शिक्षकले आफूले प्राप्त गरेका र समयले मागेको ज्ञान अध्यावधिक गरिरहनुपर्ने
हुन्छ । कृत्रिम बौद्धिकता (AI) लगायत नयाँ प्रविधिलाई सिकाइ सहजीकरणमा
उपयोग गर्दै त्यसका अवसरसँगै सीमाना, जोखिम र नैतिक
पक्षबारे विद्यार्थीलाई सचेत गराउन सक्नुपर्छ। प्रविधिसँग प्रतिस्पर्धा गर्न
सकिँदैन । प्रविधिलाई सिकाइको साधन बनाएर विद्यार्थीलाई भविष्यका लागि तयार गर्ने
शिक्षक नै कुशल र योग्य शिक्षक हो। त्यही शिक्षक सबैको प्यारो शिक्षक हुन्छ ।
शिक्षकको आचरणले विद्यार्थीमा
गहिरो प्रभाव पार्छ। शिक्षकको समयपालन, अनुशासन,
निष्पक्षता,
धैर्यता,
इमानदारिता
र मानवीय व्यवहार विद्यार्थीका लागि अनुकरणीय हुन्छ। शिक्षकले के भन्छन् भन्दा पनि
के गर्छन् भन्ने कुरा विद्यार्थीका लागि ज्यादै महत्वपूर्ण हुन्छ। त्यसैले बदलिँदो
समयसँगै शिक्षकको ज्ञान र शिक्षण पद्धति आधुनिक हुनुपर्छ । सैनिक महाविद्यालयहरूमा
शिक्षकको छनोट प्रक्रिया व्यवस्थित भएकाले योग्य, दक्ष र
प्रविधिमा सिपालु शिक्षकहरू मात्र नियुक्ति पाउने गर्छन् ।
विद्यार्थीको सफलतामा बाँचेको गौरव :
विद्यार्थी सफल भए पश्चात शिक्षक
सफल हुन्छ। कुनै विद्यार्थी उच्च शिक्षा हासिल गरेर महत्वपूर्ण जिम्मेवारीमा
पुग्दा, समाजमा योगदान दिँदा वा मुलुकलाई चिनाउँदा शिक्षकहरू प्रायः चर्चामा आउँदैनन्।
तर शिक्षकका लागि विद्यार्थीको सफलता नै सबैभन्दा ठुलो पुरस्कार हो। सफल विद्यार्थीले
वर्षौँपछि भेटेर भनिदियोस्, “गुरुबा,
हजुरले
त्यतिबेला दिनुभएको सल्लाहले मेरो जीवन
बदलियो। म हजुरप्रति ज्यादै ऋणी छु।” शिक्षकका लागि
योभन्दा ठुलो खुसी नै हुँदैन।
शिक्षक सुन्दर बगैचामा बिउ रोप्ने
मालीजस्तै हुन्। आफूले रोपेको बिउ कहिले फुल्छ र कहाँ फल्छ भन्ने थाहा नहुन सक्छ; तर
भविष्यप्रतिको विश्वासका साथ उनी निरन्तर आफ्नो कर्ममा लागिरहन्छन्। शिक्षणको
प्रतिफल तत्काल देखिँदैन, त्यसको वास्तविक
प्रभाव वर्षौँपछि विद्यार्थीको सोच, व्यवहार र
उपलब्धिमा देखिन्छ।
शिक्षक आफ्ना विद्यार्थीलाई अगाडि
बढेको देखेर गौरव गर्छन्। यही निस्वार्थ भाव शिक्षकको मौन सेवाको सबैभन्दा ठुलो
शक्ति हो। कक्षाकोठामा दिएको प्रेरणा,
सिकाएको
संस्कार वा देखाएको असल व्यवहारले विद्यार्थीको जीवनको दिशा बदलिरहेको हुन्छ।
अन्ततः शिक्षक सम्भावनालाई पहिचान
गर्ने, सपनालाई दिशा दिने र भविष्यका लागि सक्षम
पुस्ता तयार गर्ने सम्वाहक हुन्। शिक्षकको वास्तविक विरासत पद,
पुरस्कार
वा प्रशंसापत्रमा नभई आफ्ना विद्यार्थीको सोच,
कर्म
र सफलतामा बाँचेको हुन्छ। त्यसैले शिक्षण भावी पुस्ताको जीवनमा सकारात्मक प्रभाव
पार्ने महान् अवसर हो।

No comments:
Post a Comment