पठन संस्कृतिमा ह्रास : कारण, चुनौती र समाधान - Harka Bohara

नयाँ

Friday, September 25, 2026

पठन संस्कृतिमा ह्रास : कारण, चुनौती र समाधान


 


“असल पुस्तक पढ्नु भनेको विगतका उत्कृष्ट मस्तिष्कहरूसँग संवाद गर्नुजस्तै हो ।”

 - रेने देकार्त (René Descartes)

पृष्ठभूमि:

शिक्षा मानिसलाई सूचना दिने प्रक्रिया  हो  । मानिसलाई सोच्न, बुझ्न, प्रश्न गर्न, विश्लेषण गर्न र आफ्ना विचारलाई अभिव्यक्त गर्न सक्षम बनाउने प्रक्रिया पनि हो । यी सबै क्षमताको विकासमा पठनको भूमिका आधारभूत हुन्छ । तर पछिल्लो समय विद्यालय तहमा पठन संस्कृतिको अवस्था नजिकबाट नियाल्दा एउटा गम्भीर प्रश्न हाम्रो अगाडि उभिएको देखिन्छ  । के हाम्रा बालबालिकामा पढ्ने बानी र पठनप्रतिको रुचि क्रमशः कमजोर हुँदै गएको छ?

कक्षाकोठामा पुग्दा यसको केही संकेत प्रस्ट देखिन्छन् । माध्यमिक तहसम्म आइपुग्दा पनि कतिपय विद्यार्थी शुद्ध उच्चारणसहित पाठ पढ्न असहज मान्छन्, कतिपयले प्रवाहपूर्ण रूपमा पढ्न सक्दैनन् र कतिपय विद्यार्थी पुस्तक पढ्नुलाई रुचिकर गतिविधिभन्दा बोझिलो कामका रूपमा लिन थालेका छन् । पठनप्रति विकसित हुँदै गएको यस्तो डर, हिचकिचाहट र दूरीले विद्यार्थीको भाषिक दक्षता र समग्र सिकाइ प्रक्रियामै प्रभाव पारिरहेको छ ।

पठन भनेको अक्षर र शब्दलाई आवाजमा रूपान्तरण गर्ने यान्त्रिक क्रिया  हो  । यो शब्द, वाक्य, सन्दर्भ, भावना, विचार र सन्देशबिच सम्बन्ध स्थापित गर्दै अर्थ निर्माण गर्ने सक्रिय बौद्धिक प्रक्रिया हो । ब्राजिलियन शिक्षाविद् पाउलो फ्रेरेले पनि पठनलाई लिखित शब्दको डिकोडिङमा मात्र सीमित नराखी संसारलाई बुझ्ने प्रक्रियासँग जोडेर हेरेका छन् । उनका अनुसार ‘संसार पढ्नु’ र ‘शब्द पढ्नु’ परस्पर सम्बन्धित प्रक्रिया हुन् ।

जब विद्यार्थी प्रारम्भिक तहदेखि नै पठनमा कमजोर हुन्छ, तब उसले पाठको अर्थ ग्रहण गर्न, प्रश्न बुझ्न, निर्देशन पालना गर्न र विषयवस्तुको गहिराइमा प्रवेश गर्न कठिनाइ भोग्छ । यसको प्रत्यक्ष प्रभाव लेखनमा पनि पर्छ, किनकि पठन र लेखन परस्पर पूरक भाषिक सिप हुन् । पर्याप्त र विविध पठनबाट शब्दभण्डार विस्तार हुन्छ, वाक्य संरचनाको बोध बढ्छ, विचार निर्माण हुन्छ र अभिव्यक्तिको क्षमता विकसित हुन्छ ।

त्यसैले पठन संस्कृतिमा देखिएको ह्रासलाई केवल नेपाली विषय वा भाषिक सिपको समस्या भनेर बुझ्नु पर्याप्त हुँदैन । यो विद्यार्थीको ज्ञान निर्माण, बौद्धिक विकास, सिर्जनात्मकता, आलोचनात्मक चिन्तन र समग्र शैक्षिक उपलब्धिसँग जोडिएको विषय हो । पठन संस्कृतिको पुनर्जागरण समकालीन शिक्षाको एउटा महत्त्वपूर्ण आवश्यकता बनेको छ ।

समस्याको जरा कहाँ छ ?

१) प्रारम्भिक तहमा आधारभूत पठन सिपको कमजोरी :

पठनको जग प्रारम्भिक कक्षामै बस्छ । वर्ण, मात्रा, ध्वनि–अक्षर सम्बन्ध, शब्द पहिचान, उच्चारण, शब्दको अर्थ तथा सरल वाक्य बोधजस्ता आधारभूत सिप समयमै सुदृढ हुन नसके विद्यार्थी पछिल्ला कक्षामा पुग्दा पठनमा कठिनाइ भोग्न सक्छ ।

विशेषगरी कक्षा १ देखि ३ सम्मको अवधिमा विद्यार्थीले शुद्धता, प्रवाह र बोध तीनै पक्षमा क्रमशः प्रगति गर्नुपर्ने हुन्छ । यस चरणमा देखिएको कमजोरीलाई समयमै पहिचान गरी सहयोग गर्न नसकिए त्यसले माथिल्ला कक्षासम्म निरन्तरता पाउन सक्छ ।

२) घरपरिवारमा पठनमैत्री वातावरणको अभाव :

बालबालिकाको पठन संस्कृतिको निर्माण विद्यालयमा मात्र हुँदैन; यसको पहिलो पाठशाला परिवार हो । घरमा अभिभावकले पुस्तक, पत्रपत्रिका वा अन्य उपयोगी सामग्री पढेको देख्नु, बालबालिकालाई कथा वा कविता सुनाउनु, उनीहरूसँग पुस्तकका विषयमा कुराकानी गर्नु र घरमा सानो भए पनि पठनको वातावरण बनाउनु अत्यन्त महत्त्वपूर्ण हुन्छ ।तर व्यस्त जीवनशैलीसँगै परिवारमा सामूहिक संवाद, कथा सुनाउने र पुस्तक पढ्ने संस्कार कमजोर हुँदै जाँदा बालबालिकाको भाषिक सम्पर्क र पठनप्रतिको स्वाभाविक आकर्षणमा पनि असर पर्न सक्छ ।

३) डिजिटल माध्यम र सामाजिक सञ्जालको बढ्दो प्रभाव :

डिजिटल प्रविधिको उपयोग कसरी गरिन्छ भन्ने कुरा महत्त्वपूर्ण हो । प्रविधिले ज्ञान र पठनका नयाँ अवसर पनि सिर्जना गरेको छ । तर छोटा, तीव्र गतिका र निरन्तर बदलिइरहने डिजिटल सामग्रीमा अत्यधिक निर्भरता बढ्दा लामो पाठमा ध्यान केन्द्रित गर्ने बानी कमजोर हुन सक्ने चुनौती देखिन्छ ।

विशेषगरी सामाजिक सञ्जालका छोटा र मनोरञ्जनप्रधान सामग्रीले विद्यार्थीलाई तत्काल प्रतिक्रिया र छिटो सूचना ग्रहण गर्ने बानीतर्फ आकर्षित गर्न सक्छन् । यसको सन्तुलन कायम नगर्दा गहिरो र धैर्यपूर्ण पठनका लागि आवश्यक समय र एकाग्रता प्रभावित हुन सक्छ ।

४) विद्यालयमा स्वतन्त्र पठनको सीमित अवसर :

कतिपय विद्यालयमा पठन अझै पनि पाठ्यपुस्तकका निर्धारित पाठ पढाउने गतिविधिमै सीमित छ । पाठ्यपुस्तक आवश्यक भए पनि पठन संस्कृति निर्माण गर्न पाठ्यपुस्तक मात्र पर्याप्त हुँदैन ।विद्यार्थीलाई कथा, कविता, जीवनी, निबन्ध, यात्रा–संस्मरण, विज्ञान, इतिहास, बालसाहित्य तथा रुचिअनुसारका अन्य पुस्तक छनोट गरेर पढ्ने अवसर दिनुपर्छ । पुस्तकालयलाई  सक्रिय सिकाइ केन्द्रका रूपमा विकास गर्न आवश्यक छ ।

५) पठनलाई मूल्याङ्कन र उपलब्धिसँग मात्र जोड्ने प्रवृत्ति :

विद्यार्थीले ‘परीक्षाका लागि मात्र पढ्नुपर्छ’ भन्ने धारणा बनाउनु हुँदैन ‌ । पठनलाई केवल अंक, गृहकार्य वा परीक्षा तयारीसँग जोड्नुको सट्टा जीवनसँग जोड्ने, प्रश्न गर्ने, छलफल गर्ने र आफ्नो अनुभवसँग सम्बन्धित गराउने वातावरण आवश्यक हुन्छ ।

६) शिक्षक स्वयंको पठन संस्कृतिको प्रभाव :

विद्यार्थीलाई पढ्न प्रेरित गर्ने सबैभन्दा प्रभावकारी माध्यममध्ये शिक्षकको आफ्नै व्यवहार पनि एक हो । शिक्षकले नयाँ पुस्तक पढ्ने, पढेका कुरा कक्षामा बाँड्ने, पुस्तक सिफारिस गर्ने र पठनका अनुभवबारे विद्यार्थीसँग संवाद गर्ने हो भने त्यसले विद्यार्थीमा सकारात्मक प्रभाव पार्न सक्छ । अतः पठन संस्कृति अभिवृद्धि गर्न विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय प्रशासन र समुदाय सबै यसको साझेदार हुनुपर्छ ।

पठन संस्कृतिमा ह्रासका प्रभावहरु

१) भाषिक दक्षतामा कमजोरी :

पठनको मात्रा र विविधता घट्दा विद्यार्थीको शब्दभण्डार सीमित हुन सक्छ । शब्दको अर्थ, प्रयोग, वाक्य संरचना र भाषिक शैलीको स्वाभाविक बोध कमजोर हुँदा मौखिक तथा लिखित अभिव्यक्तिमा समेत असर पर्न सक्छ ।

२) लेखन तथा विचार अभिव्यक्तिमा समस्या :

पढेका सामग्रीले व्यक्तिलाई विचार, शब्द, शैली र संरचनाका विविध नमुना उपलब्ध गराउँछन् । पर्याप्त पठनको अभावमा विद्यार्थीलाई आफ्ना विचार क्रमबद्ध, स्पष्ट र प्रभावकारी रूपमा लेख्न कठिन हुन सक्छ । त्यसैले राम्रो लेखनको आधारमा राम्रो पठनको ठुलो योगदान हुन्छ ।

३) सिर्जनात्मकता र कल्पनाशक्तिमा सङ्कुचन :

कथा, कविता, जीवनी, विज्ञान, इतिहास र विविध विचारका पुस्तकसँगको सम्पर्कले विद्यार्थीलाई फरक–फरक संसार र दृष्टिकोणसँग परिचित गराउँछ । पठनको दायरा साँघुरिँदा कल्पना, प्रश्न र नयाँ सम्भावनाबारे सोच्ने अवसर पनि सीमित हुन सक्छ ।

४) आत्मविश्वासमा कमी :

कक्षामा पाठ पढ्न नसक्नु, उच्चारणमा बारम्बार त्रुटि हुनु वा पढेको कुरा बुझ्न कठिनाइ हुनुका कारण केही विद्यार्थीमा संकोच र आत्मविश्वासको कमी देखिन सक्छ । यस्तो अनुभव दोहोरिँदै गएमा विद्यार्थी कक्षा छलफल र सार्वजनिक अभिव्यक्तिबाट समेत पछि हट्न सक्छ ।

५) आलोचनात्मक तथा विश्लेषणात्मक सोचमा असर :

असल पठनले विद्यार्थीलाई ‘के भनिएको छ ?’  र  ‘किन भनिएको छ?’, ‘यसको प्रमाण के हो ?’, ‘यसलाई अर्को दृष्टिकोणबाट कसरी हेर्न सकिन्छ ?’ जस्ता प्रश्न गर्न प्रेरित गर्छ । विविध र अर्थपूर्ण पठनको अवसर सीमित हुँदा यस्तो विश्लेषणात्मक अभ्यास पनि कमजोर हुन सक्छ ।

६) समग्र शैक्षिक उपलब्धिमा प्रभाव :

पठन सबै विषयको सिकाइसँग जोडिएको आधारभूत सिप हो । गणितका प्रश्न बुझ्न, विज्ञानको अवधारणा ग्रहण गर्न, सामाजिक विषयका पाठ विश्लेषण गर्न वा प्रश्नपत्रको निर्देशन बुझ्नसमेत पठन आवश्यक हुन्छ । त्यसैले पठनमा कमजोरी हुनु एउटा विषयको मात्र समस्या नभई समग्र सिकाइको समस्या बन्न सक्छ ।

समाधानका सम्भावित उपायहरू

पठन संस्कृतिमा आएको ह्रास बहुआयामिक समस्या भएकाले यसको समाधान पनि विद्यालय, परिवार, शिक्षक, विद्यार्थी र समुदायको समन्वित प्रयासबाट मात्र सम्भव हुन्छ ।

१) प्रारम्भिक तहबाटै सुदृढ पठन सिप विकास :

कक्षा १–३ लाई पठनको आधार निर्माण गर्ने निर्णायक चरणका रूपमा लिएर योजनाबद्ध अभ्यास आवश्यक छ । वर्ण मात्रा, ध्वनि अक्षर सम्बन्ध, शब्द पहिचान, उच्चारण, प्रवाह र बोधलाई क्रमशः विकास गरिनुपर्छ ।विद्यार्थीको पठन अवस्था नियमित रूपमा पहिचान गरी पछाडि परेका विद्यार्थीका लागि अतिरिक्त सहयोग, साना समूहमा अभ्यास र व्यक्तिगत पठन अवसर उपलब्ध गराउनुपर्छ ।

२) ‘दैनिक पठन समयको व्यवस्था :

विद्यालयमा हरेक दिन निश्चित समय स्वतन्त्र पठनका लागि छुट्याउन सकिन्छ । यस समयमा विद्यार्थीले आफ्नो रुचिअनुसार पुस्तक, कथा, कविता, जीवनी वा अन्य उपयुक्त सामग्री पढ्न पाउने व्यवस्था गर्नुपर्छ । यसलाई परीक्षा वा अंकसँग मात्र नजोडी पढ्ने बानी बसाल्ने समयका रूपमा विकास गर्नुपर्छ ।

३) पुस्तकालयलाई जीवित सिकाइ केन्द्र बनाउने :

पुस्तकालयमा पुस्तक राखेर मात्र पठन संस्कृति निर्माण हुँदैन । पुस्तकालयमा नियमित पुस्तक परिचय, पुस्तक समीक्षा, पाठक समूह, वाचन कार्यक्रम, लेखक परिचय, पुस्तक आदानप्रदान तथा ‘मलाई मन परेको पुस्तक’जस्ता गतिविधि सञ्चालन गर्न सकिन्छ ।

४) ‘एक विद्यार्थी एक पुस्तक एक महिना’अभियान :

विद्यालयको स्रोतअनुसार हरेक विद्यार्थीले प्रत्येक महिना कम्तीमा एउटा पुस्तक पढ्ने, त्यसको छोटो समीक्षा लेख्ने वा कक्षामा आफ्ना साथीहरूसँग अनुभव बाँड्ने कार्यक्रम सञ्चालन गर्न सकिन्छ । यसले पठनलाई नियमित अभ्याससँग जोड्नुका साथै पढ्ने, सोच्ने, बोल्ने र लेख्ने चारै सिपलाई एकसाथ विकास गर्न सहयोग पुर्‍याउँछ ।

५) घर र विद्यालयबिच पठन साझेदारी :

पठन संस्कृति विद्यालयमा मात्र निर्माण गर्न सकिँदैन । अभिभावकलाई पनि यस अभियानको साझेदार बनाउनुपर्छ । घरमा दैनिक १५\२० मिनेट परिवारसँग पठन समय निर्धारण गर्न सकिन्छ । अभिभावकले आफैँ पुस्तक पढ्ने र बालबालिकासँग पढेका विषयमा संवाद गर्ने वातावरण बनाउनु अझ प्रभावकारी हुन्छ ।

६) डिजिटल माध्यमलाई सहयोगी बनाउने :

विद्यार्थीलाई मोबाइल र इन्टरनेटबाट पूर्ण रूपमा अलग गर्नेभन्दा डिजिटल पठनलाई पनि व्यवस्थित रूपमा सिकाइसँग जोड्नु व्यवहारिक उपाय हुन सक्छ । ई–बुक, डिजिटल पुस्तकालय, शैक्षिक लेख, अडियोबुक तथा विश्वसनीय शैक्षिक सामग्रीको प्रयोग गर्न सकिन्छ । मुख्य कुरा प्रविधि हटाउनु होइन, प्रविधिको प्रयोगमा उद्देश्य, समय र सन्तुलन कायम गर्नु हो ।

७) शिक्षकलाई पठन अभियन्ता बनाउने :

हरेक शिक्षकले आफ्नो विषयभन्दा बाहिरका पुस्तक पनि पढ्ने र विद्यार्थीलाई पुस्तक सिफारिस गर्ने संस्कार विकास गर्नुपर्छ । शिक्षकले आफूले पढेको पुस्तकको एउटा रोचक प्रसङ्ग कक्षामा सुनाउनु मात्र पनि विद्यार्थीमा पुस्तकप्रति जिज्ञासा जगाउने प्रभावकारी उपाय हुन सक्छ ।

८) पठनलाई जीवनसँग जोड्ने :

विद्यार्थीले पढेको सामग्रीलाई आफ्नो जीवन, परिवार, समाज र वरपरको संसारसँग जोडेर हेर्ने अवसर पाउनुपर्छ । पाठ पढिसकेपछि ‘यसले मेरो जीवनसँग के सम्बन्ध राख्छ ?’, ‘म यसबाट के सिक्न सक्छु ?’, ‘यस विषयमा मेरो विचार के छ ?’ जस्ता प्रश्नमा छलफल गराउन सकिन्छ । यसरी पठन शब्द बुझ्ने प्रक्रियाबाट विचार निर्माण गर्ने प्रक्रियामा रूपान्तरण हुन्छ ।

९) पठनमा कमजोर विद्यार्थीलाई कमजोरको लेबल नलगाउने :

पठनमा कठिनाइ भएका विद्यार्थीलाई सार्वजनिक रूपमा होच्याउने, अरूको अगाडि तुलना गर्ने वा ‘तिमी पढ्न जान्दैनौ’ भन्ने व्यवहारले समस्या समाधान गर्दैन; बरु उनीहरूमा पठनप्रतिको डर अझ बढाउन सक्छ ।त्यसको सट्टा उनीहरूको वर्तमान क्षमताबाट सुरु गरेर साना–साना सफलताको अनुभव दिलाउनुपर्छ । पठन सिकाइमा प्रोत्साहन, धैर्य र निरन्तर अभ्यास दण्डभन्दा प्रभावकारी हुन्छ ।

१० ) विद्यालयस्तरीय पठन संस्कृति निर्माण :

पठनलाई विद्यालयकै संस्कृतिको हिस्सा बनाउनुपर्छ । कक्षा, पुस्तकालय, सभा, अभिभावक दिवस, साहित्यिक कार्यक्रम र अतिरिक्त क्रियाकलापमा पठनलाई स्थान दिन सकिन्छ ।विद्यालयमा महिनाको उत्कृष्ट पाठक, पुस्तक समीक्षा, वाचन प्रतियोगिता, पठन डायरी, पुस्तक प्रदर्शनी, लेखकसँग संवाद जस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।  यस्ता कार्यक्रम वा प्रतियोगिता नियमित पठन संस्कृतिको बानी निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिनुपर्छ ।

निष्कर्ष :

पठन संस्कृतिको ह्रास विद्यार्थीले पुस्तक कम पढ्नुको समस्या मात्र होइन  ।  यो परिवार, विद्यालय, शिक्षण पद्धति, डिजिटल वातावरण र हाम्रो समग्र शैक्षिक संस्कृतिसँग जोडिएको विषय हो । त्यसैले यसको समाधान पनि कुनै एउटा कार्यक्रम वा अभियानबाट मात्र सम्भव हुँदैन ।

हामीले विद्यार्थीलाई पढ भनेर निर्देशन दिनुभन्दा पहिले उसलाई पढ्न मन लाग्ने वातावरण निर्माण गर्नुपर्छ । पुस्तकलाई पाठ्यक्रमको बोझबाट निकालेर जिज्ञासा, आनन्द र आत्मविकासको माध्यम बनाउनुपर्छ । पुस्तकालयलाई खुला, जीवन्त र पहुँचयोग्य बनाउनुपर्छ । शिक्षकले आफैँ पढ्नुपर्छ, अभिभावकले पठनको वातावरण बनाउनुपर्छ र विद्यालयले पठनलाई संस्थागत संस्कृतिका रूपमा विकास गर्नुपर्छ ।आज एउटा बालकले पढेको एउटा राम्रो पुस्तकले भोलि उसको एउटा विचार बदल्न सक्छ; एउटा विचारले उसको जीवन बदल्न सक्छ र एउटा पुस्ताको पठन संस्कृतिले समाजको बौद्धिक दिशा नै बदल्न सक्छ ।

अन्ततः, पठन संस्कृति जोगाउनुको अर्थ प्रश्न गर्ने, सोच्ने, बुझ्ने र सिर्जना गर्ने पुस्ता जोगाउनु हो । त्यसैले विद्यालयको लक्ष्य ‘हरेक विद्यार्थीले पढ्न सकून्, पढेको बुझून्, बुझेकोबारे सोचून् र पढाइबाट जीवनलाई अझ गहिरोसँग बुझ्न सकून् ।’ भन्ने हुनुपर्छ  ।

मिति : २०८३ असोज १० गते शनिबार 

स्थान : धनगढी- ५, शिवनगर ( आफ्नै निवास, झमझम वर्षा भइरहेको वातावरण ) 



No comments:

Post a Comment