सहर भरिएको छ मान्छेले,
तर मान्छे हराएको छ मान्छेभित्रै।
अनुहारका मेला, स्वार्थका
खेल,
आत्मीयताको दीप निभेको छ
छातीभित्रै।
ओठमा मुस्कान, आँखामा
स्वार्थ,
तनमा उज्यालो, मनभरि
अन्धकार।
काखा र पाखा, आफ्ना र
पराया,
सम्बन्धको बगैँचामा विभेदको छाया।
आफ्नै छायासँग तर्सिन्छ मान्छे,
अरूका आँसुमा उत्सव खोज्छ।
पराई पीडामा मौनता साँच्छ,
स्वार्थको वेदीमा संवेदना बेच्छ।
सत्यका स्वरहरू ओझेलमा परे,
झुटका महलहरू आकाशतिर सरे।
इमानका पाइला द्विविधामा अल्झिए,
मुखौडाका अनुहार बजारभरि चम्किए।
धनको तराजुमा नाताको तौल हुन्छ,
हैसियत हेरेर आत्मीयताको मोल
हुन्छ।
मनभन्दा माथि जब मानको मोह चढ्छ,
मान्छेभित्रको मान्छे बिस्तारै
मर्छ।
हातमा हात छ, मनमा
पर्खाल,
ओठमा मुस्कान, हृदयमा
बेहाल।
चारैतिर भीड छ, आत्मीयता
हरायो,
मान्छे त हजारौँ छन्, मानवता
हरायो।
अरूलाई जित्ने होडमा मान्छे,
आफ्नै विवेकसँग हारिरहेको छ।
संसार बदल्ने सपना बोकेर,
आफ्नै अन्तरात्माबाट भागिरहेको छ।
कुनै दिन ऐनाअघि उभिएर,
आफ्नै आँखासँग आँखा जुधाउन सक्ला
कि?
धन, पद, प्रतिष्ठाका मुखौडा च्यातेर,
आफूभित्रको मान्छे चिनाउन सक्ला कि
?
किनकि
बाटोहरूबिच हिँड्दाहिँड्दै
मान्छे आफ्नै अन्तरात्माबाट
टाढिँदै जान्छ,
भिडको कोलाहलमा विवेकको स्वर
हराउँछ,
र आफ्नै छातीभित्रको मानवता
बिस्तारै समाधिस्थ हुँदै जान्छ।
मिति २०८३ असोज ३१, शनिबार ( नवरात्र, सप्तमी )
स्थान : धनगढी -५, शिवनगर ( आफ्नै निवास )

No comments:
Post a Comment