शब्दवर्ग पहिचान समस्या निराकरण गर्न गरिएको एक कार्यमूलक अनुसन्धान प्रतिवेदन - Harka Bohara

नयाँ

Tuesday, January 2, 2024

शब्दवर्ग पहिचान समस्या निराकरण गर्न गरिएको एक कार्यमूलक अनुसन्धान प्रतिवेदन

शब्दवर्ग पहिचान समस्या निराकरण गर्न गरिएको एक कार्यमूलक अनुसन्धान प्रतिवेदन

१) परिचय 

समयको बदलिंदो परिस्थितिसँगै भित्रिएको आधुनिकताले विज्ञान र प्रविधिको क्षेत्रमा तीव्र विकास भएको छ र शिक्षामा पनि यसको प्रभाव परिरहेको छ । नयाँ नयाँ ज्ञान र प्रविधिको विस्तारसँगै शैक्षिक विधि र प्रविधिहरु पनि थपिंदै गएका छन् । विकसित समयको माग अनुसार शिक्षकहरु पनि समायोजित तथा सबल बन्दै जानुपनर्,े शिक्षामा थपिएका नयाँ नयाँ विषयवस्तु तथा परिवर्तित एवम् विकसित पाठ्यक्रम तथा पाठ्यपुस्तक अनुसार शिक्षण गर्नुपर्ने, परम्परागत रुपमा शिक्षण गरिरहने शिक्षकले शिक्षणका क्रममा भोगेका विविध समस्याहरुप्रति सचेत भई समस्या समाधानको लागि आवश्यक सल्लाह, सुझाव एवम् परामर्श लिइरहनु पर्छ ।

यसै सिलसिलामा म विगत ८ बर्षदेखि सैनिक आवासीय महाविद्यालय, तेघरी, कैलालीमा नेपाली भाषा विषय अध्यापनरत छु । ज्ञानेन परोमो सेवा भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सैनिक कल्याणकारी कोषबाट सञ्चालित तथा वि सं २०६७ सालमा स्थापना भएकोे यस महाविद्यालयमा ४७ जना शिक्षक, ५५ जना गैर शिक्षक जनशक्ति (कर्मचारी)  र ४४४ छात्र १९५ छात्रा गरी जम्मा ६३९ विद्यार्थीहरु रहेका छन् । ६ कक्षादेखि १२ सम्म पढाइ हुने यो महाविद्यालय सुदूरपश्चिम प्रदेशको राम्रो विद्यालयको रुपमा परिचित छ ।

नेपाली भाषा शिक्षणका क्रममा व्याकरण सम्बन्धी अवधारणा, परम्परागत व्याकरण र आधुनिक व्याकरणमा देखिएका भिन्नता कथ्य र लेख्य व्याकरणबीच भिन्नता, वर्णविन्यास, शिक्षणका समस्याहरु, पदयोग र पदवियोग सम्बन्धी नियम, कारक र विभक्तिको परिचय, कारकका प्रकार, कविता शिक्षणको प्रयोजन र विधि, जीवनी लेखन, कथालेखन जस्ता विविध भाषिक सीप शिक्षणका बारेमा दक्षता हासिल गर्ने अवसर पाएको छु । यसै क्रममा पेशागत दक्षता अभिवृद्धिका लागि यस कार्यमूलक अनुसन्धान  प्रतिवेदन लेखन कार्य गरिएको छ । 

यस क्रममा मैले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको शब्दवर्ग पहिचान सम्बन्धी समस्यालाई लिएर यो कार्यमूलक अनुसन्धान तयार पार्ने प्रयास गरेको छु ।

२) कार्यमूलक अनुसन्धानका उद्धेश्यहरुः 

क) शिक्षकको पेशागत दक्षताको अभिवृद्धि गर्न,

ख) शिक्षणको सिलसिलामा देखिएका समस्या समाधानका लागि शैक्षिक सामग्रीको प्रयोग, व्यक्तिगत भिन्नताको पहिचान, खोज विधिमा शिक्षकलाई अग्रसर बनाउन ।

ग) भाषिक सीप शिक्षणका क्रममा देखिएका समस्या र परिवर्तित व्याकरण शिक्षणमा देखिएका समस्याको समाधान    गर्न ।

३) अनुसन्धान अध्ययनको औचित्यः

कार्यमूलक अनुसन्धान शिक्षणको एक महत्वपूर्ण प्रयोगात्मक पक्ष हो । जसले शिक्षण सिकाइको कुनै पनि अवस्थालाई सुधारात्मक रुपमा अघि बढाउँछ । सामान्यतया कक्षा शिक्षण सिकाइ क्रियाकलापको क्रममा कक्षा कोठामा देखिएका शिक्षण सिकाइ सम्बन्धी तत्कालीन समस्याहरुको समाधान गर्ने उद्धेश्यले यसको प्रयोग गरिन्छ । कार्यमूलक अनुसन्धानले शिक्षक तथा विद्यार्थीको शिक्षण सिकाइमा ठोस परिवर्तन ल्याउँछ । शैक्षिक समस्याको पहिचान, सुधार र समाधानमा यस अनुसन्धानको विशेष महत्व हुने हुँदा शब्दवर्ग शिक्षणका लागि कार्यमूलक अनुसन्धान गरी अन्य क्षेत्र र सीपको शिक्षणमा प्रयोग गर्ने अनुभूति गरेको छु ।

४) अध्ययनको सीमाः

     कुनै पनि वस्तुको शीर्षक सानो भएतापनि यसको क्षेत्र व्यापक हुन्छ । नेपाली शिक्षण भाषिक सीपको शिक्षण भएकाले विभिन्न कक्षा र तह अनुसार यसको शिक्षण व्यापक र विस्तार हुँदै जान्छ ।  कक्षा १० को नेपाली विषयको शब्दवर्ग अन्तर्गत पर्ने दुई शब्द विकारी (नाम, सर्वनाम, विशेषण, क्रियापद) र अविकारी (क्रियायोगी, नामयोगी, संयोजक, विस्मयादिबोधक र निपात) शब्द र शब्दवर्गको पहिचानसँग मात्र यो अध्ययन सीमित रहेको छ । कक्षा १० को सेक्सन सीका ३८ जना विद्यार्थीहरुलाई शिक्षण गरी प्राप्त नतिजा विश्लेषणको अनुसन्धान नै यसको सीमितताभित्र पर्दछ । छोटो समय कारण अनुसन्धान सीमित बनेको छ ।

५) समस्याको पहिचानः

    शिक्षणको सिलसिलामा थुप्रै समस्याहरु र बाधा अड्चनहरु देखापर्ने गर्दछन् । शैक्षिक सत्रको सुरुआतदेखि नै विद्यार्थीहरुमा त्यस विषयवस्तुको पूर्वज्ञान तथा विभिन्न तत्वलाई ध्यान दिदा  कक्षा १० को शब्दवर्ग पहिचान अन्तर्गत शिक्षणमा देखा परेका समस्यालाई अनुसन्धानको विषय बनाई समाधानको उपाय खोजिएको छ । यस अनुसन्धान कार्य तथा समस्या समाधानको लागि विभिन्न तालिममा सिकेका शिक्षणका विधिहरु पनि प्रयोग गरेको छु ।

६) कार्यमूलक अनुसन्धानको योजनाः

   हरेक कार्यको लागि योजनाको आवश्यकता पर्दछ । विना योजना कार्य सम्पन्न हुन सक्दैन । त्यसैले विभिन्न सीप तथा अनुभवहरुको अभाव हुदाहुदै पनि यस कार्यमूलक अनुसन्धानको योजना निम्नानुसार तय गरिएको छ ।

क) समयावधिः  

यस कार्यमूलक अनुसन्धानको समयावधि २०८०÷०८÷१० गतेदेखि २०८०÷०८÷१५ गतेसम्म तय गरेको छु ।

ख) विधिः

   यस कार्यमूलक अनुसन्धान कार्य सम्पन्न गर्नका लागि अवलोकन, छलफल, खोज, शब्दकोष अध्ययन, शब्दवर्ग सम्बन्धी धारणा, प्रयोगात्मक विधिहरु छनौट गरिएको छ साथै प्रश्नावली तयार गरी विद्यार्थीहरुको उत्तरपुस्तिका परीक्षण गरेको छु ।

ग) शैक्षिक सामग्रीः 

   यहाँ कार्यमूलक अनुसन्धान कार्य सञ्चालनको लागि प्रयोगमा ल्याइएका सामग्रीलाई शैक्षिक सामग्रीको रुपमा हुन् । यसमा पावरप्वाइन्टमा निर्माण गरिएका सामाग्री, शब्दकोष, विभिन्न व्याकरणकारका व्याकरणसम्बन्धी पुस्तकहरु नै शैक्षिक सामग्रीको रुपमा रहेका छन् । 

घ) अनुसन्धानको केन्द्रः

    नेपाली विषय कक्षा एकदेखि उच्च शिक्षासम्म अनिवार्य विषयको रुपमा पठनपाठन हुर्दै आएको छ । शब्दवर्ग सम्बन्धी धारणा कक्षा १२ सम्म पनि समावेश गरिएको छ । तर यो अनुसन्धान कक्षा १० को विद्यार्थीहरुको शब्दवर्ग पहिचान सम्बन्धी समस्यासँग केन्द्रित रहेको छ ।

७) कार्यक्रम सञ्चालनः

    आफूसँग रहेको ज्ञान र सीपको अलावा विभिन्न तालिमको माध्यमबाट सिकेको सीप तथा अनुभवलाई प्रयोग गर्दै  निम्नानुसार कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छु । यसमा समस्याको छनौट लगायत अन्य पक्ष जस्तैः  आकर्षक शैक्षिक सामग्रीको निर्माण तथा प्रयोगमा विशेष ध्यान केन्द्रित छ ।

क) समस्यामूलक विषयवस्तुको छनौटः

   सरलबाट जटिलतिर भन्ने शिक्षणको सूत्रअनुसार कक्षा १० को विद्यार्थीलाई (नेपाली विषय) सुहाउँदो र एस.ई.ई परीक्षालाई सुहाउँदो शब्दवर्ग सम्बन्धी विषयवस्तु छनौट गर्ने प्रयास गरेको छु ।

ख) हस्तक्षेपकारी तीन चरण अनुसारको प्रयोगः

पहिलो चरणः 

    विद्यार्थीलाई विभिन्न शब्दवर्ग पहिचान सम्बन्धी प्रश्नहरु तयार पारी तिनको बारेमा छलफल र अन्तरक्रिया गर्न लगाएँ । ती शब्दवर्गभित्र परेका शब्दहरुको भिन्नताको पहिचान गर्न लगाएँ । अनुमानका आधारमा उत्तर भन्न लगाएँ । समूहबाट उत्तर खोज्ने प्रयास गरें । विभिन्न सामग्रीको माध्यमबाट शब्दवर्ग छुट्याउन लगाएँ । यसो गर्दा विद्यार्थीहरु पनि बढी सक्रिय भएको पाएँ ।

दोस्रो चरणः

    पहिलो चरणमा विद्यार्थीहरुले समूह अनुसार हरेक शब्दहरुको छलफल गराउँदै विद्यार्थीहरुलाई क्रियाकलापमा सहभागी गराइयो ।  आवश्यक निर्देशन तथा सुझाव दिदैं विद्यार्थीहरु पटक पटक प्रयोग गर्दै गल्ती सुधारतर्फ सक्रिय देखिए । यस सम्बन्धी अभ्यासहरु गराइयो ।

तेस्रो चरणः

प्रत्येक दिनको पाठको अन्तमा मूल्याङ्कनको रुपमा मौखिक एवम् लिखित प्रश्नहरु सोधियो । जसमा नाम, सर्वनाम, विशेषण, क्रियापद, क्रियायोगी, नामयोगी, संयोजक, विस्मयादिबोधक, निपात जस्ता शब्दवर्गसँग सम्बन्धित विषयमा प्रश्नहरु सोधिएको थियो । थप अभ्यासको रुपमा गृहकार्य पनि दिइयो । जसमा विद्यार्थीहरु सक्रिय भएको पाइयो ।

८) प्राप्ती तथा निश्कर्षः

   अध्यापनको सिलसिलामा कुनै समस्यामूलक विषय छनौट गरी त्यसैको कार्यमूलक अनुसन्धान गरी प्रतिवेदन तयार गर्दा धेरै अनुभव प्राप्त गरेको छु । कार्यमूलक अनुसन्धानले आफूलाई शिक्षणको सिलसिलामा नयाँ अवधारणाको महसुस गराएको छ । सकेसम्म विद्यार्थी केन्द्रित शिक्षण र बढी भन्दा बढी शैक्षिक सामग्री र प्रविधिको प्रयोग गर्नाले शिक्षण शिक्षण प्रभावकारी, दिगो र सफल हुने विश्वास ठान्दछु । कक्षा १० को विद्यार्थीलाई अघिल्लो बर्षहरुका शिक्षणबाट भन्दा यस प्रकारको शिक्षणबाट बढी सफलता मिलेको अनुभूति पनि प्रष्ट्याउँछु ।

               


No comments:

Post a Comment