एसएलसीका ती दिनहरू - Harka Bohara

नयाँ

Saturday, March 21, 2026

एसएलसीका ती दिनहरू

(SLC का वेला खिचिएको तस्बिर)
  वि. स.२०५७ वैशाख २ गतेदेखि हुने एसएलसी परीक्षामा सामेल हुन हिँडेको  क्षण आज पनि मनको गहिराइमा तरङ्गित भइरहन्छ। जीवनको बाल्यकाल बिस्तारै टाढिँदै गइरहेको थियो भने जिम्मेवारीको संसारले ढोका ढकढक्याउन थालिरहेको थियो‌ । त्यो नै थियो एसएलसी परीक्षा....।

एसएलसी यथार्थमा “आइरन गेट” थियो । मानौँ, त्यो एउटा यस्तो ढोका हो जसलाई पार गरेपछि मात्र जीवनको अर्को अध्याय सुरु हुन्छ। गाउँघरमा कसैले एसएलसी पास गर्‍यो भने “फलानोको छोरा पास भयो” भन्दै आमाबुवाको ठुलो नाम चल्थ्यो। त्यसैले एसएलसीको मूल्य केवल परीक्षा मात्र थिएन । यो सामाजिक प्रतिष्ठा, आत्मसम्मान र भविष्यको सम्भावनासँग गाँसिएको थियो।

हामी तत्कालीन लानाकेदारेश्वर गाविसको केदारेश्वर माध्यमिक विद्यालय, लाना, रन्तोलामा अध्ययन गर्थ्यौ । केदारेश्वर माध्यमिक विद्यालय भनेपछि अहिले पनि मन हुरुक्क हुन्छ। त्यो समय कक्षा १० को ‘टेस्ट परीक्षा’ नै सबैभन्दा ठुलो छनोट हुन्थ्यो। धेरै साथीहरू त्यहीँ रोकिन्थे, थोरै मात्र अगाडि बढ्थे। हामी आठ जना: प्रकाश बिनाडी, हेमबहादुर सिराडी, टेकबहादुर बोहरा, महासिंह बिष्ट, खडकबहादुर बोहरा, हेमबहादुर मल्ल, भोजबहादुर बम र म ( हर्क बोहरा ) ले एसएलसी दिने सौभाग्य पाएका थियौँ।

विद्यालय छोड्ने त्यो क्षण साँच्चिकै अत्यन्त भावुक थियो। कक्षाकोठाका भित्ताहरू, गुरुहरूको मार्गदर्शन र साथीहरूको हाँसो, सम्झँदा मन भारी बनेको थियो। घरबाट निस्कँदा आमाको हातले लगाइदिएको रातो टिका निधारमा टल्किरहेको थियो, जसले आशिष् मात्र होइन, गहिरो जिम्मेवारीको अनुभूति गराइरहेको थियो। त्यसमाथि मेरा सहोदर दाजुको विवाह नै परीक्षा सुरु हुने दिन ( वैशाख २ गते ) मा परेकाले मनमा एउटा छुट्टै पीडा पनि थियो। विद्यालयको सुन्दर वातावरण, छात्रावासमा बसेर खाएका दिनहरू, कक्षा १० सम्म सँगै पढेका दौतरीहरू र पूज्य गुरुहरूको साथ छोडेर जान मन त कहाँ थियो र ? तर पनि मानिस त यायावर प्राणी हो भनेर चित्त बुझाउनुको विकल्प थिएन।  कुशल नेतृत्वका प्रतीक अम्बिकाप्रसाद पोख्रेल, श्रद्धेय गुरुहरू अशोककुमार यादव, अरविन्दकुमार यादव लगायत सम्पूर्ण गुरुहरूको आशीर्वाद लिएर नयाँ यात्रातर्फ अघि बढ्दा मन भित्र गहिरो सम्झना र भावनाहरूको मिश्रण भइरहेको थियो।
मिति ठ्याक्कै सम्झना छैन, सायद वि. स.२०५६ चैत २१/ २२ तिर हुनुपर्छ।  त्यतिबेला गाडीको सुविधा थिएन। हामीले दुई दिनको पैदल यात्रा तय गर्‍यौँ। घलघलेको अरण्य लेकाली बाटो, भान्न्याको घना जङ्गल, अक्कर उकालोओरालो, चिसो हावा र  हरिण, स्यालजस्ता जनावर टाढाबाट देखिँदा मन रोमाञ्चित हुन्थ्यो र अलिकति डर पनि लाग्थ्यो। बाटोभरि हामी भविष्यका सपना र आशङ्काहरू भोग्दै गीतहरू गुनगुनाउँदै हिँडिरहेका थियौँ।
दुई दिनको लामो यात्रापछि हामी दिपायल पुग्यौँ। दिपायल क्षेत्रको वारी पिपल्ला र पारीलाई दिपायल भनिँदो रहेछ । पिपल्ला बजारमा लहरै टिनले छाएका पसलहरू सजिएका थिए । राजपुर तत्कालीन सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम भएकाले त्यसको महत्त्व अझै बढी देखिन्थ्यो। राजपुरबाट नियाल्दा पिपल्ला, दिपायल, सिलगढी लगायतका रमणीय दृश्यहरू एकैसाथ आँखामा कैद हुन्थे। बिचमा सेती नदी सललल बगिरहेको दृश्यले वातावरणलाई अझ मोहक बनाएको थियो। पहिलो पटक त्यो दृश्य देख्दा मन एकैपटक रोमाञ्चित र आश्चर्यचकित बनेको थियो, र त्यो अविस्मरणीय क्षण आज पनि आँखा वरिपरि घुमिरहन्छ।
हामीले “बोगटान होटल” मा बस्ने योजना बनाएका थियौँ। त्यो होटल तत्कालीन धिर्कामाण्डौ गाविसका पदमसिंह बोहराको रहेछ। तर त्यहाँ विद्यार्थीहरूको अत्यधिक भीडले बस्ने ठाउँ पाइएन। त्यसपछि हामी सेती नदी पारी–पारि डेरा खोज्दै हिँड्यौँ। म, हेमबहादुर सिराडी र प्रकाश बिनाडी प्रहरी तालिम केन्द्र अगाडि एउटा घरमा बस्यौँ, परीक्षा अवधिको डेराभाडा सायद १५० तिर्यौ।
दिपायलको प्रचण्ड गर्मी, अपरिचित वातावरण, र सीमित साधन भए तापनि  हामीभित्रको जाँगर र लक्ष्यले सबै कुरा सहज बनाइरहेको थियो। हामी करिब १०–१२ दिन त्यहाँ बस्यौँ। त्यो समयमा होटलमा खाना खाँदा पनि जम्मा रु. ४५० मात्र खर्च भयो। मासु खाएको  याद छैन। नास्तामा कहिले बिस्कुट, कहिले पाउरोटी र मुख्य रूपमा घरबाट लगेको भुटेको मकै, भटमास र सिरौँला .....।
मैले घरबाट करिब रु. १८०० मात्र बोकेको थिएँ, मेरो समूहमा सबैभन्दा कम। अरू साथीहरूले रु. ३०००–४००० सम्म लगेका थिए। त्यही पैसाबाट मैले एक जोर कपडा सिलाएँ, डेरा भाडा तिरेँ, खाना र नास्ता खाएँ, र घर फर्कँदा पनि दुई तीन सय रुपैयाँ बचाउन सकेँ। त्यो सादगीपूर्ण जीवनले आजसम्म पनि आत्मनिर्भरता र संयमको पाठ सिकाइरहेको छ।
परीक्षा केन्द्र दिलपेश्वर माध्यमिक विद्यालय थियो, सेती नदीको बगरमै......। बिहान परीक्षा दिन जाँदा नदीको सङ्लो पानीले मनमा शीतलता प्रदान गर्थ्यो । हरेक दिन सेती नदीमा नुहाउनुको आनन्दको वर्णन गरी साध्य छैन।
म लगायत केही केही साथीहरू पौडी खेल्न नजान्ने भएकाले नदीको छेउतिर डरै डरले नुहाउँथ्यौँ । अरु साथीहरू हामीलाई बेसरी गिज्याउँथे र नदीतिर तान्न खोज्थे ।
एसएलसी परीक्षा सञ्चालन हुने तरिका नै फरक थियो । परीक्षा अत्यन्त कडा हुन्थ्यो। निरीक्षकहरूसँग बोल्न पनि डर लाग्थ्यो; दायाँबायाँ हेरेको भरमा “स्ट्यान्ड अप!” भन्ने आवाज आउँथ्यो। जिल्लाको टोली निरीक्षणमा आउँदैछ भन्ने खबरले मुटु झन् जोडले धड्किन्थ्यो। हरेक दिन जुत्ता समेत खोलाएर चेक गरिन्थ्यो, सानो गल्ती पनि क्षम्य हुँदैनथ्यो। शिक्षकले जे भन्यो, त्यही नियम मान्नुपर्थ्यो । रेस्ट्रिक्ट हुने डर बढी हुन्थ्यो। गणितको परीक्षाको दिन मैले निकै बेरसम्म ग्राफ पेपर पाएको थिइनँ; माग्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि डरले मुख खोल्न सकिनँ, यो कुरा मनमा जस्ताको तस्तै बसिरहेको छ। परीक्षा केन्द्राध्यक्ष मुक्तिनाथ शर्मा हुनुहुन्थ्यो, उहाँ घोडा चढेर आउने गर्नुहुन्थ्यो । घोडा पनि खाइलाग्दो थियो।  उहाँको उपस्थितिले पनि केन्द्रमा अनुशासनको कठोरता झल्काउँथ्यो। जिल्ला शिक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीको टोली निरीक्षणमा आउँदा त वातावरण झन् गम्भीर बन्थ्यो। त्यसबेला एसएलसी केवल परीक्षा मात्र होइन,  विद्यार्थीको भविष्य निर्धारण गर्ने भएकाले सबैमा एक प्रकारको डर, सम्मान र दृढ संकल्प एकैसाथ देखिन्थ्यो।
दिपायल बसाइका दिनहरूमा दुईवटा गीत होटल होटलमा गुन्जिरहन्थे । दिपेन्द्रप्रसाद दाहालको खप्तडकी रानी चढी (देउडा) र बद्री पंगेनीको ससुरालीमा (दोहोरी) .....। ती गीतहरू केवल संगीत थिएनन् ती हाम्रो थकानका साथी, हाम्रो सम्झनाका धुन बने। अचेल ती गीतहरू बजेको सुन्दा एसएलसी दिएको सम्झना आउँछ।
दिपायल वरिपरिका विद्यार्थीहरू ढुक्क देखिन्थे। तर हामी गाउँबाट गएका न सहर देखेका, न चिनेजानेको कोही.......।  हातमा किताब, शरीरमा स्कुलकै पोशाक, अनुहारमा अलमल....... । कहिलेकाहीँ  सडकमा  हामी नुन खाएको कुखुरा जस्तै ट्वाल्ल परिरहेका हुन्थ्यौँ।
परीक्षा सकिएको दिन… त्यो दिन कहिल्यै बिर्सन सकिँदैन। गीत गाउँदै, हाँस्दै, रमाउँदै हामीले त्यो क्षण मनायौँ। त्यो खुशी शब्दभन्दा परको थियो। त्यही दिन फोटो स्टुडियोमा गएर फोटो खिच्यौँ । समयको एउटा जीवित प्रमाणको रूपमा ती फोटाहरु आज पनि सुरक्षित छन्  । परीक्षा सकिएपछि कसैको अनुहारमा खुसी, कसैको आँखामा आँसु.......। म लगायत केही साथीहरूको परीक्षा राम्रो भएको थियो। हामी खुसी हुँदै फर्कियौँ। तर केही साथीहरू भने रुँदै घर फर्किएका थिए। त्यो बेला दुई विषयसम्म फेल भए कम्पार्टमेन्ट पाइन्थ्यो। कतिपय साथीहरू “म त कम्पार्टमेन्टमा पर्छु होला” भन्दै चिन्तित हुन्थे।
हामी फेरि उही लेकाली बाटो समाउँदै घर फर्कियौँ। फर्कँदा बाटो उस्तै थियो, तर हामी फरक भइसकेका थियौँ,अनुभवले परिपक्व, जीवन बुझ्न थालेका.....।
आज धेरै वर्ष बितिसके। जीवनले धेरै घुमायो। दिपायल धेरैपटक पुगेँ। तर त्यो पहिलो यात्रा, त्यो एसएलसीको बसाइ, त्यो सेती किनार, त्यो लेकाली बाटो, त्यो गीतहरूको गुन्जन, त्यो डर र साहस, त्यो साथित्व, यी सबै सम्झनाहरू मन गहिराईमा तैरिरहेका छन्।
सायद जीवनका ठुला उपलब्धिहरू समयसँगै हराउँदै जान्छन्। तर यस्ता क्षणहरू  संघर्ष, सपना, मित्रता र अनुभूति एकै ठाउँमा मिसिन्छन्ज्ञ। ती कहिल्यै मेटिँदैनन्।
मेरो जीवनको त्यस्तै एउटा अमिट, स्पन्दित र उज्यालो अध्याय हो, एसएलसीका ती दिनहरू......।

No comments:

Post a Comment