आजको यस आँगनमा
केवल बालबालिका देखिरहेको छैन,
यी कलिला आँखाभित्र
भोलिको उज्यालो नेपाल देखिरहेको छु।
कलिला हातमा कलम छ,
ती हातभित्र
समय बदल्ने सामर्थ्य छ।
स-साना पाइलामा
भोलिका ठुला पदचाप छन्,
निर्दोष मुस्कानमा
सुन्दर संसारको आभास छ।
बालबालिका मात्र
चौरमा खेलिरहेका बच्चा होइनन्,
यी वर्तमानले
भविष्यलाई सुम्पेका
सबैभन्दा सुन्दर सपना हुन्।
उनीहरू प्रश्न गरून्
हामी उत्तर खोज्न सिकाऊँ।
उनीहरू सपना देखून्
हामी आकाश देखाऊँ।
उनीहरू बङ्गलङ्ग लडून्
हामी उठ्न सिकाऊँ।
उनीहरू अघि बढून्
हामी उड्ने हिम्मत दिऊँ।
किनकि
बालकको एउटा प्रश्नले
नयाँ युगको ढोका खोल्न सक्छ,
एउटी बालिकाको आत्मविश्वासले
परम्परागत पर्खाल भत्काउन सक्छ ।
हामी उनीहरूलाई
जीवन सिकाउन चाहन्छौँ ।
सफलताको बाटो देखाउन चाहन्छौँ ।
सँगै हिँड्न सिकाउन चाहन्छौँ ।
आज उनीहरू
हामीबाट सिक्दैछन्,
भोलि
यही समाजले
उनीहरूबाट सिक्नेछ।।
त्यसैले,
सपना सानो नदेख,
आकाश साँघुरो नसम्झ ।
तिमीभित्र एउटा सागर छ,
तिमीभित्र एउटा आकाश छ,
तिमीभित्रै
एउटा नयाँ नेपालको सम्भावना छ।
पढ, सिक र अघि बढ
तर मानिस बन्न नबिर्स।
किनकि ज्ञानले
मानिसलाई ज्ञानी बनाउँछ,
संस्कारले इमान्दार बनाउँछ।
आज हामी एउटा वाचा गरौँ
कुनै सपनालाई मर्न दिने छैनौँ,
कुनै उडानलाई रोक्ने छैनौँ ।
माया दिनेछौँ,
शिक्षा दिनेछौँ,
अवसर दिनेछौँ,
व्यवहार दिनेछौँ,
र
सबैभन्दा माथि
असल संस्कार दिनेछौँ।
किनकि
आजका यी साना आँखामा
भोलिको उज्यालो छ,
आजका यी कोमल हातमा
हामी सबैको इतिहास छ।
हामी सबैको सुन्दर भविष्य छ।
राष्ट्रिय बालदिवस -२०८३ को शुभकामना।
रचना मिति : २०८३ भाद्र २९ गते सोमबार
स्थान : धनगढी -५ शिवनगर, कैलाली ( आफ्नै निवास )

No comments:
Post a Comment