आदरणीय अभिभावकज्यूहरू, प्रिय विद्यार्थीहरू, शिक्षक मित्रहरू
सादर नमस्कार।
आज म तपाईंहरूलाई प्रत्यक्ष सम्बोधन गर्दै लेख्दैछु। यो कुनै औपचारिक लेख होइन, यो मेरो हृदयबाट बगेको एउटा खुला आदरपत्र हो।
वि. सं . २०६१ साल भदौ महिनातिरको कुरा हो । म २१ वर्षको एक नौजवान शिक्षक, आँखामा सपना, मनमा जोश र हृदयमा सेवा भाव बोकेर जब दर्जाकोट पुगेँ, मैले थाहा पाएको थिएन त्यो ठाउँले मेरो जीवनलाई यति गहिरो रूपमा रूपान्तरण गर्नेछ भनेर........।
त्यतिबेला म केवल पढाउन आएको शिक्षक मात्र थिइनँ, म आफैँ जीवन सिक्न आएको विद्यार्थी थिएँ। स्वामी विवेकानन्दले भनेझैँ, “शिक्षक त्यो हो, जसले पढाउँदा आफूले बढी कुरा सिक्छ।” धिर्कामाण्डौको भौगोलिक कठिनाइ, गरिबी, अभाव र दुर्गमता देख्दा सुरुमा मन भारी हुन्थ्यो। तर त्यहाँका मानिसहरूको सरलता, इमानदारी र आत्मीयताले त्यो भारीपन क्षणमै पखालिदिन्थ्यो। खरले छाएका घरहरू, उबड खाबड बाटा, चिसो हावा, सादा जीवन यी सबैबिच पनि तपाईंहरूको मन सुनभन्दा उज्यालो थियो।
त्यो गाउँ, जहाँ ढाँट्न नजान्ने मानिस बस्थे ।
त्यो समाज, जहाँ बाँडेर खाने संस्कार थियो ।
त्यो परिवेश, जहाँ शिक्षकलाई भगवान् ठानिन्थ्यो ।
दर्जाकोट, तिमी साँच्चै अद्भुत थियौ।
जङ्गल, खोला र जीवनका पाठ :
पढाइसँगै मेरा दिनहरू प्रकृतिसँग गहिरो सम्बन्धमा बितेँ। बिदामा अभिभावक र साथीहरूसँग जङ्गलतिर घुम्न जानु, खोलामा माछा मार्नु, सिकार खेल्न जानु , सानोतिनो भोजभतेर भएपनि गाउँमा जम्मा भइहाल्नु, यी सबै क्षणहरू आज पनि आँखाअगाडि चलचित्रझैँ घुमिरहन्छन्। अरण्य जङ्गल, खोला किनार, पहाडका चुली सबै मेरो जीवनका खुला कक्षा थिए।
रविन्द्रनाथ टेगोरको “प्रकृति नै सबैभन्दा ठुलो गुरु हो।” भन्ने उक्ति मेरो मानसमा प्रगाढ छ। खोला र जङ्गलको शान्ति र उच्चा उच्चा पहाडले मलाई धैर्य, सहनशीलता र प्रकृतिप्रतिको सम्मान सिकायो। माटो, पानी र हरियो छायाँसँगको अनुभवले जीवनका वास्तविक पाठ बुझ्न मद्दत गर्यो।
प्रकृतिसँगको त्यो नजिकको सम्बन्धले मलाई पाठ्यपुस्तकमा भन्दा पर्याप्त ज्ञान अनुभव र अवलोकनबाट पनि जीवनका गहिरा अर्थ सिकायो । ती दिनहरूले मेरो सोच, चरित्र र जीवनप्रतिको दृष्टिकोण नै फरक बनायो।
अभिभावकको माया : जीवनकै अमूल्य धन
आदरणीय अभिभावकज्यूहरू,
आज पनि म ज्यादै सम्झन्छु, तपाईंहरूको घरमा खाएको सादा तर अत्यन्त स्वादिलो भात, साग, ढिडो, मकैका रोटी र तरकारीहरू । त्यो स्वाद केवल जिब्रोमा मात्र थिएन, त्यो माया, आत्मीयता र अपनत्वको स्वाद थियो। कतिपय दिन त तपाईंहरूले मलाई भन्नुहुन्थ्यो, “सर, आज हमरा घर खानु पड्या हा।” म शिक्षक थिएँ, तर तपाईंहरूको व्यवहारले मलाई परिवारजस्तो अपनत्व र सम्मान दिएको अनुभव भयो।
तपाईँहरूको साधारण जीवनशैली, सीमित साधन र परिश्रम, नम्रता र शिष्टता अविस्मरणीय छ।तपाईँहरूको व्यवहारमा मैले जीवनका मूल्यहरू,सद्भावना, माया, आत्मीयता र इमानदारी सिकेको थिएँ । तपाईंहरूको मुस्कान, गहिरो सत्कारले मनमा सधैं गहिरो प्रभाव पारेको छ।
आज पनि जहाँ भेट हुन्छ, तपाईंहरूको आँखामा उही अपनत्व देख्छु। त्यो स्पर्श, त्यो मुस्कान र त्यो आत्मीयतालै मेरो मन भरिन्छ। तपाईँहरूको सम्बन्धमा आदर, माया र जीवनभर सम्झिन लायक अनुभवहरू मिसिएका छन्। तपाईंहरूको त्यो सरलता, सधैं सहयोग गर्न तयार हुने मनोभाव र ममता मेरा लागि सदैव उदाहरण र मार्गदर्शनको स्रोत रह्यो।
विद्यार्थी : इमान्दारिताका प्रतीक
प्रिय मेरा विद्यार्थीहरू,
तिमीहरू केवल मेरा शिष्य थिएनौ, तिमीहरू मेरो जीवनका शिक्षक थियौ। कहिलेकाहीँ पढाइमा कमजोर हुनु बेग्लै परिस्थिति थियो तर तिमीहरूमा इमानदारी, अनुशासन र आदरको भावना असीम थियो। शिक्षकको अभावमा म तिमीहरूको अङ्ग्रेजी शिक्षक थिएँ अचेल त्यसलाई म गल्तीको रुपमा लिन्छु। तिमीहरूले पोलेको मकै, भुटेका भटमास, काँक्रा, तरुल, कन्दमूल कोसेली दिन्थ्यौ त्यो मेरो लागि सबैभन्दा ठुलो पुरस्कार हुन्थ्यो। महात्मा गान्धीको बालबालिकाको हृदय जित्न सक्नु नै साँचो शिक्षा हो भन्ने कुरा धेरै सम्झन्छु।
द्वन्द्वकाल : डरबिच पनि बलिरहेको ज्ञानको दीप
माओवादी द्वन्द्वको बेला थियो । केवल राजनीतिक अशान्तिको समय थिएनन्, मानिसको मन हल्लाइदिने पीडादायी वर्षहरू थिए। डर, त्रास, बन्द, अभियान र असुरक्षाबिच हामी दुई धारको तरबारबिच उभिएका थियौँ। एकातिर राज्यको दबाब, अर्कोतिर विद्रोही पक्षको प्रभाव । जसको परिणामस्वरूप शिक्षण कार्य आफैँमा एउटा साहसपूर्ण यात्रा बनेको थियो।
कहिले विद्यार्थी अभियानमा जान बाध्य हुन्थे, कहिले कक्षा कोठा सुनसान हुन्थे। कहिले आफै शिक्षकहरू हिँड्नुपर्थ्यो । कतिपय दिन डरै डरले पाठ्यपुस्तक खुल्थ्ये। त्यो हाम्रो रहर थिएन, त्यो समयको बाध्यता पनि थियो। त्रासको छायाँमा पनि हामीले कक्षाकोठामा ज्ञानको दीप निभ्न दिएनौँ। आज सम्झँदा पीडा पनि हुन्छ, गर्व पनि लाग्छ किनकि त्यो अँध्यारो समयमा पनि हामीले आशाको उज्यालो जोगाइराख्यौँ।
माध्यमिक तह सञ्चालनको सङ्घर्ष :
शिक्षाको दृष्टिले तत्कालीन धिर्कामाण्डौ क्षेत्र निकै पछाडि थियो। त्यहाँका ग्रामिण परिवेश, दुर्गम बाटो र कृषिप्रधान जीवनशैलीले गर्दा शिक्षामा प्रगति ढिला भएको थियो। तत्कालीन धिर्कामाण्डौ गाविसमा दुईवटा मात्र विद्यालय थिए, एउटा दर्जाकोट अर्को मोहन्याल ...। विद्यार्थीहरूको संख्या प्रशस्त भए पनि खेतीपातीको चापका कारण उनीहरूको नियमित उपस्थिति समेत नहुने स्थिति थियो। कतिपय विद्यार्थीहरू बिहान विद्यालय आएर दिउँसो बारीतिर जान बाध्य हुन्थे।
त्यतिबेला विद्यालय केवल निम्न माध्यमिक तहसम्म सीमित थियो। विद्यार्थीहरूले कक्षा ८ पास गरेपछि पढाइ जारी राख्नका लागि दुर्गामाण्डौकाे झिमेमालिका माध्यमिक विद्यालय वा लानाकेदारेश्वरको केदारेश्वर माध्यमिक विद्यालयमा जानुपर्थ्यो। घरदेखि टाढा, दुर्गम बाटो, जोखिमपूर्ण यात्रा र आर्थिक अभावले धेरै विद्यार्थीहरूको पढाइ त्यहीँ टुङ्गिन्थ्यो र भारततिर बरालिनुपर्थ्यो । यस्तो विषम परिस्थितिलाई समाधान गर्न जागरूक युवाहरूले शिक्षाको महत्व बुझेर विद्यालय विकासको दिशा परिवर्तन गर्ने पहल गरे।
तत्कालीन गाउँ विकास कार्य सञ्चालन समितिको बजेटको पुनःसंरचना गरी विद्यालयलाई माध्यमिक तहसम्म पुर्याउने प्रयास भयो। निम्न माध्यमिक विद्यालयलाई मावि ( कक्षा ९ र १० ) तहसम्म विस्तार गर्न संघर्षरत युवाहरूको प्रतिबद्धता र दृष्टि ऐतिहासिक मान्न सकिन्छ। हामी सबै कसिएर लाग्यौँ र भन्यौँ , “हाम्रो गाउँमा अरु विकास नभए पनि विद्यालयको विकास अवश्य हुनुपर्छ।”
यो पहलले तत्कालीन शिक्षाको पहुँच फराकिलो बनाएको मात्र होइन, गाउँका विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गरेको छ। शिक्षक, विद्यार्थी र समुदायबिचको समन्वय र युवाहरूको सशक्त पहलले नै धिर्कामाण्डौको शिक्षामा महत्वपूर्ण परिवर्तन ल्यायो।
शिक्षक स्टाफ : मेरो दोस्रो परिवार
दर्जाकोटको शिक्षक स्टाफ तपाईंहरू मेरा सहकर्मी मात्र होइन, मेरो दोस्रो परिवार हुनुहुन्थ्यो। को प्रधानाध्यापक ? को साधारण शिक्षक ? भन्ने भेद कहिल्यै महसुस भएन। पदभन्दा माथि उठेर हामी सबै कर्तव्य र आत्मीयताको एउटै डोरीले बाँधिएका थियौँ।
एकले अर्कालाई प्रेरणा दिने संस्कार थियो। एकजनाको दुःख सबैको दुःख हुन्थ्यो, एकजनाको खुसी सबैको खुसी हुन्थ्यो । कसैको घरमा समस्या आयो भने विद्यालय परिवार नै उभिन्थ्यो। विद्यालयभित्र मात्र होइन, जीवनका हरेक मोडमा हामी एकअर्काका सहयात्री थियौँ।
सहकार्य हाम्रो शक्ति थियो। कक्षाकोठामा, प्रशासनिक जिम्मेवारीमा, विद्यार्थीको भविष्य निर्माणमा हामी काँधमा काँध मिलाएर अघि बढ्थ्यौँ। कहिल्यै प्रतिस्पर्धा होइन, सधैँ पूरकता थियो।
दाजुभाइको जस्तो आत्मीय सम्बन्ध, भरोसा र अपनत्वले शिक्षक स्टाफलाई विशिष्ट बनाएको थियो।
तपाईँहरू नै भन्नुहुन्थ्यो, शिक्षकहरू राम्रा हुनुहुन्छ।
स्वर्ण जयन्ती र अनुपस्थिति :
२०८२ फागुन ७ गते दर्जाकोट माध्यमिक विद्यालयको स्वर्ण जयन्ती मनाइँदै थियो। भूतपूर्व प्रधानाध्यापकको हैसियतले मलाई निमन्त्रित गरिएको थियो, तर व्यक्तिगत कारणले उपस्थित हुन सकिनँ।
तर मन ? मन त त्यो दिन विद्यालयको चौरमा, कक्षा कोठामा दौडिरहेको थियो। विद्यार्थी र शिक्षकको उत्साह, अभिभावकहरूको आत्मीय स्वागत, बाटाघाटाका रमाइला क्षण सबै दृश्य आँखाअगाडि खेलिरहे।
उपस्थित नहुनु केवल शारीरिक अनुपस्थिति थियो; हृदय र आत्मा त दर्जाकोटसँगै भौँतारिइरहेका थिएँ। यही पीडा र सम्झनाले मलाई यो लेख जन्माउन प्रेरित गरेको हो ।
दर्जाकोट र वर्तमान :
आज दर्जाकोट धेरै बदलिएको छ। सडक पुगेको छ, सञ्चार विस्तार भएको छ, भौतिक संरचनाहरू उभिएका छन्, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी, बिजुली जस्ता आधारभूत सुविधाहरू विस्तार भएका छन्। बोगटान फुड्सिल गाउँपालिकामा आयोजना हुने विभिन्न शैक्षिक, सांस्कृतिक र सामाजिक कार्यक्रमहरूमा दर्जाकोटले पटकपटक प्रथम स्थान हासिल गर्दै आफ्नो पहिचान मजबुत बनाएको छ। यो परिवर्तन देख्दा मन गर्वले भरिन्छ।
आजको दर्जाकोट विकसित दर्जाकोट बनेको छ। भौतिक विकासको गतिले गाउँलाई नयाँ उचाइमा पुर्याएको छ। युवाहरू सचेत बनेका छन्, बालबालिकामा नयाँ सपना पलाएका छन्, शिक्षा र चेतनाको पहुँच फैलिँदै गएको छ। यी सबै परिवर्तनहरू आशाका उज्याला सङ्केत हुन्।
तर यही विकाससँगै कताकता त्यो पुरानो सरलता, आत्मीयता र सामूहिक भावना फिक्का हुँदै गएको अनुभूति पनि हुन्छ। पहिले जस्तो सबैको घर आँगनमा सहज प्रवेश, निस्वार्थ सहयोग र पारस्परिक अपनत्व विस्तारै कम हुँदै गएको जस्तो लाग्छ। आधुनिकता, प्रविधि र व्यस्तताले मानवीय सम्बन्धमा दूरी सिर्जना गरिदिएको यथार्थ पनि हामीले स्वीकार गर्नैपर्छ।
विकाससँगै यदि हामीले मानवीय मूल्य, सहअस्तित्व र आत्मीयता गुमायौँ भने, त्यो विकास अधुरो हुन्छ। सडक र भवनले गाउँको बाहिरी रूप बदल्छन्, तर मानिसको मन नबदलिएसम्म समाज रूपान्तरित हुँदैन।
दर्जाकोटप्रति नमन:
दर्जाकोट तिमी मेरो जीवनको पाठशाला हौ, जहाँ मैले केवल अक्षर र अङ्क मात्र होइन, जीवन बुझ्ने कला सिकेँ। तिमी मेरो स्मृतिको तीर्थस्थल हौ, जहाँ हरेक पाइलाले कुनै न कुनै अमिट अनुभूति जगाइरहन्छ। तिमी संवेदनाको उद्गम हौ, जहाँ मानवता, आत्मीयता र सहअस्तित्वका बीजहरू मेरो मनमा रोपिए।
आज पनि मन बारम्बार भन्छ,
त्यो माटो फेरि चुम्न पाएँ,
त्यो आँगन फेरि टेक्न पाएँ,
ती अपनत्वले भरिएका अनुहार फेरि देख्न पाएँ,
सायद जीवन अझै अर्थपूर्ण, अझै पूर्ण हुन्थ्यो।
तपाईंहरू सबैप्रति मेरो शिर श्रद्धापूर्वक निहुरिएको छ, हृदय गहिरो सम्मानले झुकेको छ, र आत्मा असीम कृतज्ञताले भरिएको छ। दर्जाकोटले दिएको माया, अपनत्व र जीवनपाठ मसँग सधैँ रहनेछ ।
फलि रएइ फुलि रएइ सुन्तलीका बोट ।
अझ झिक्कै प्रगति हाेऊ हम्रा दर्जाकोट ।
मसँग दर्जाकोटका स्मृति र अनुभूति लेख्ने कुराहरू धेरै थिए तथापि पत्र धेरै लामो भयो । आगामी दिनमा फेरि लेखुँला। अहिलेलाई बिदा चाहन्छु ।
उही तपाईँका लानाका सर
हर्क बोहरा
.png)
No comments:
Post a Comment