काठमाडौँ : समय, स्मृति र परिवर्तनको सहर - Harka Bohara

नयाँ

Monday, January 26, 2026

काठमाडौँ : समय, स्मृति र परिवर्तनको सहर

तस्बिर स्रोत: google

लामो अन्तरालपछि अलि बढी समयका लागि काठमाडौँ टेक्दा सहरभन्दा पहिले आफ्नै स्मृतिहरू भेटिए। त्रिभुवन विश्वविद्यालयको ढुङ्गे बाटो, कीर्तिपुरको शान्त आकाश, कक्षाकोठाभित्र गुञ्जिने बहस र बाहिर चियागफमा झर्ने जीवनदर्शन यी सबैले उसलाई फेरि विद्यार्थी बनाइदियाे। उसले यहीँबाट स्नातकोत्तर तह पास गरेको थियो । ज्ञान प्राप्तिको यात्रामा कीर्तिपुर केवल बसोबासको ठाउँ होइन, चेतनाको पाठशाला पनि हाे। त्यसैले होला, कीर्तिपुर आज पनि उसलाई मनपर्छ किनकि ज्ञान पाएको ठाउँ कहिल्यै पराइ हुँदैन।

यसपटकको काठमाडौँ बसाइमा काठमाडौँलाई अलि फरक पाएको अनुभूति उसको रह्यो। जीवन बनाएको सहर आज उसलाई नयाँ आँखाले हेर्न बाध्य बनायो। समयले सहरलाई मात्र होइन, मानिसको स्वभाव, चालचलन र सम्बन्धलाई पनि फेरिदिएको रहेछ।

गाडीमा यात्रा गर्दा उसले सानो तर गहिरो परिवर्तन देख्यो। धेरैजसो गाडीमा कन्डक्टर थिएनन्, तर त्यसले अव्यवस्था होइन, जिम्मेवारीको सङ्केत गर्थ्यो। यात्रुहरू आफैँ इमान्दारिताका साथ ड्राइभरलाई पैसा बुझाउँथे। भीडभाडभित्र पनि विश्वास बाँकी छ भन्ने अनुभूति उसलाई सुखद लाग्यो। जर्मन दार्शनिक इमानुएल कान्टले भनेझैँ, “नैतिकता भनेको बाहिरको डर होइन, भित्रको कर्तव्य हो।” काठमाडौँका ती यात्रुहरूमा उसले यही भित्री कर्तव्यको झिल्को देख्यो।

काठमाडौँ उसलाई यसपटक सफा लाग्यो। पानीलाई हेरेर धित मार्ने अवस्था छैन काठमाडौँमा.... । हिउँदको मौसममा पनि घामले न्यानोपन बाँडिरहेको थियो। सडकहरू चौडा छन्, सहर अब साँच्चै सहर नै हाे । तर त्यही सहरभित्र कतै कतै तमाम संरचनाहरू अस्तव्यस्त देखिन्थे। उसलाई लाग्यो सायद यो जेन्जी आन्दोलनको परिणाम हो, जहाँ पुरानो भत्किँदैछ र नयाँ अझै पूरै उभिन सकेको छैन। परिवर्तनको यो संक्रमणकालले सहरलाई अलि अव्यवस्थित बनाए पनि उसले विकासको सम्भावनाको अड्कल गर्‍यो ।

यातायातमा पनि समयसँगै सुविधा थपिएको छ। यताउता हिँडडुल गर्दा याङ्गो, इनड्राइभ, पठाओजस्ता डिजिटल व्यवस्थाले सहरलाई सानो बनाइदिएको छ। अब दूरी केवल भौगोलिक होइन, प्रविधिले घटाएको अनुभूति उसले गर्‍यो। तमाम मानिसले रोजगारी पाएको रहेछ । मार्शल म्याकलुहानको भनाइ उसलाई सम्झना आयो, “प्रविधि मानवका इन्द्रियहरूको विस्तार हो।” काठमाडौँमा प्रविधिले मानिसको हिँडाइ, सोचाइ र समयको अनुभूतिलाई विस्तार गरिरहेको थियो।

यसपटक उसले आफ्ना धेरै अग्रजहरू, आत्मीय साथीहरू, इष्टमित्रहरु भेट्न पायो। लामो समयसम्म बिछोडिएका साथीहरूसँग संगठित भएर धित मरुन्जेल कुरा गर्न पाउँदा उसलाई लाग्यो समयले टाढा पारे पनि सम्बन्ध मरेका रहेनछन् । साथीहरूबाट उसले प्रशस्त कोसेली पायो । कसैले शब्द दिए, कसैले सम्झना, कसैले मौन सहानुभूति। उसले मनमनै भन्यो,"बाँच्नुपर्दो रहेछ, सबै थोक हुँदो रहेछ।" जीवनको यही दर्शन नेपाली समाजको गहिरो सत्य हो।

तर परिवर्तन यहाँ पनि स्पष्ट थियो। पहिरनमा ठुलो फेरबदल देखिन्थ्यो। सडकमा सारी लगाएका महिलाहरू र रेडिमेड कपडा बाहेकका पुरुषहरू धेरै कम थिए। आधुनिकता, सुविधा र विश्वव्यापी प्रभावले पहिरनलाई पनि नयाँ रूप दिएको थियो। रवीन्द्रनाथ ठाकुरको भनाइ उसलाई याद आयो, “संस्कृति नदीजस्तै हो, बगिरहन्छ, तर स्रोत बिर्सनु हुँदैन।” काठमाडौँमा संस्कृति बगिरहेको थियो, तर स्रोत कत्तिको सम्झिइँदैछ भन्ने प्रश्न भने उसलाई सताइरह्यो।

घुमघाम गर्न आउने पर्यटकहरू मोबाइलमै घुमिरहेका देखिन्थे। आँखाभन्दा पहिले क्यामेराले दृश्य टिप्थ्यो। तस्वीर खिच्न, भिडियो बनाउन उनीहरू मस्त थिए। क्षणलाई बाँच्नु भन्दा सुरक्षित गर्न हतारिएको संसार जस्तो। पुराना साथीभाइ, इष्टमित्र भेट्दा पनि पहिलेजस्तो संस्कार धेरै देखिएन। भेट छोटो, कुरा छिटो, समय महँगो भएको अनुभूति उसले गर्‍यो।

उसले देशलाई हेर्ने झ्यालको रूपमा काठमाडौँलाई लियो । राजनीतिक, आर्थिक, सामाजिक र संस्कारिक रूपमा काठमाडौँ आज पनि देशको केन्द्रमै उभिएको छ। लोकतान्त्रिक गणतन्त्र र संघीय राज्य भएतापनि सबै निर्णय, सबै प्रभाव यहीँबाट फैलिएको अनुभूति उसलाई भयो। उसलाई लाग्यो कि देशभरिका हुनेखाने, शक्ति र पहुँच भएका मानिसहरू काठमाडौँमै केन्द्रीत छन्। फ्रान्सेली दार्शनिक मोंतेस्क्यूको भनाइ यहाँ सान्दर्भिक लाग्यो,“सत्ता जहाँ केन्द्रीत हुन्छ, त्यहाँ नै समाजको दिशा तय हुन्छ।”

सहरभित्र मानिसहरू आफ्नै धुनमा हुन्छन्। कोही कसैको मतलब गर्दैनन्, सबैलाई आफ्नो कामको हतार हुन्छ। यो आफैमा केन्द्रित आधुनिक सहरको अपरिहार्य सत्य हो भन्ने उसले बुझ्यो। सडकको एक कुनामा बसेर हेरिरह्यो भने मानिसहरू दगुरेको मात्र देखिन्छ । सबैको कुनै न कुनै गन्तव्य छ ।

यही स्मृति र परिवर्तनको बीचमा उसले काठमाडौँलाई हिँडेर बुझ्ने इच्छा गर्‍यो। बिहान सुन्धारातिर पाइला मोड्दा धरहरा ठिङ्ग उभिएको देखियो । भूकम्पले ढालेको इतिहास र पुनर्निर्माणले उठाएको आशा एकैसाथ बोकेको प्रतीकजस्तो। धरहराको छायाँमा उभिँदा उसलाई लाग्यो, काठमाडौँ पनि यही धरहराजस्तै हो ढलेको, उठेको र फेरि पनि उभिरहेकै। वरिपरि घुम्ने मानिसहरूको भीड, सेल्फीको हतार र सडकको कोलाहलबीच उसले केही क्षण शान्त भएर सहरको सास सुन्न खोज्यो।

त्यसपछि उसले फेरि कीर्तिपुरको पेरिफेरी समात्यो। त्रिभुवन विश्वविद्यालयको परिसर आज पनि उस्तै छ रुखहरू अलि ठुला भएका थिए, भवनहरू अलि पुराना देखिन्थे, नयाँ संरचना विश्वविद्यालय देखेन । कक्षाकोठा बाहिर बसेर बहस गरिरहेका विद्यार्थीहरू देख्दा  उसले आफ्नो अतित स्पन्दन गन्यो । समय फेरिए पनि ज्ञान खोज्ने आकुलता उस्तै रहन्छ। यही आकुलताले सहरलाई निरन्तर जीवित राखेको छ।

पशुपतिनाथ पुगेको दिन उसले काठमाडौँको अर्को अनुहार देख्यो। आरतीको धुन, घण्टीको निनाद र धूपको सुगन्धले सहरको चर्को आवाजलाई केही बेर दबाइदिएको थियो। जीवन र मृत्यु एउटै घाटमा भेटिने त्यो दृश्यले उसलाई फेरि सम्झायो। सहर जति आधुनिक भए पनि अन्ततः मानिस अध्यात्ममै फर्किन्छ। त्यहाँ उभिँदा उसले केवल देवतालाई होइन, आफ्नै अस्थिर जीवनलाई पनि नमन गर्‍यो।

स्वयम्भुनाथतिर उक्लिँदा सहर पैतालामुनि फैलिएको थियो। बाँदरहरूको चञ्चलता, प्रार्थना घुमाइरहेका हातहरू र टाढासम्म देखिने काठमाडौँको फैलावट सबैले उसलाई भित्रैदेखि आनन्दित बनायो। सहरलाई माथिबाट हेर्दा उसले बुझ्यो । तल देखिने अव्यवस्था, हतार र कोलाहल पनि यही सहरको सत्य हो।

यात्राका क्रममा उसले काठमाडौँको अर्को अपरिहार्य यथार्थ पनि भोग्यो, ट्राफिक जाम। लामो लाइनमा रोकिएका सवारीसाधन, धुवाँ र हर्नको आवाज बिच ट्राफिक प्रहरीहरू चिउडोमा मास्क लगाएर सिट्टी फुकिरहेका देखिन्छन् । धुलोबाट जोगिन मास्क अनिवार्य थियो तर सहर चलाइराख्न सास रोकेरै सिट्टी फुक्नुपर्ने बाध्यता उनीहरूको अनुहारमा स्पष्ट देखिन्थ्यो। यी प्रहरीहरू काठमाडौँका मौन योद्धा हुन्, जसले हरेक दिन सहरको अराजकतासँग लडिरहेका छन्।

यसै स्मृति र परिवर्तनको सहरभित्र उसको काठमाडौँ आगमनको मूल कारण भने रमाइलो यात्रा थिएन, स्वास्थ्यको बाध्यता थियो। शरीरले साथ छोडेपछि सहर उसका लागि गन्तव्य होइन, उपचारको दौडधुप बन्यो। कहिले ग्रान्डी अस्पतालका सेता कोरिडोरमा रिपोर्ट बोकेर कुर्नुपर्थ्यो, कहिले नेपाल मेडिसिटीका लिफ्टहरूमा माथि तल ओहोरदोहोर गर्दै डाक्टरका आश्वासन खोजिन्थे। मेशिनको आवाज, औषधिको गन्ध र समयसँगै घटबढ हुने आशा निराशाबिच ऊ आफूलाई सहरभन्दा पनि शरीरकै भित्र हराइरहेको महसुस गर्थ्यो। आधुनिक उपचारले समाधान दिन नसक्दा ऊ प्राकृतिक चिकित्सातर्फ दौडिन्छ, माटो, पानी, हावा र मौनतामा निको हुने सम्भावना खोज्दै.....। कहिले सुईले घोचेको पीडा, कहिले जडीबुटीको तीतोपन, कहिले ध्यानको मौन यी सबै उपचारहरू उसका लागि रोग निको पार्ने उपाय मात्र थिएनन्, जीवनलाई पुनः बुझ्ने यात्राजस्तै बने। सहर बाहिरबाट चम्किलो देखिए पनि उसका लागि काठमाडौँ यसपटक दुखाइ, धैर्य र आशाको संगम पनि बन्यो। स्वास्थ्य लाभको खोजीमा दौडिँदा उसले बुझ्यो,मानिस जतिसुकै विकसित भए पनि अन्ततः शरीर कमजोर हुँदा भरोसा खोज्ने ठाउँ भनेको मानवीय संवेदना, समय र आत्मिक शान्ति नै रहेछ। यही पीडाको बिचमा पनि काठमाडौँले उसलाई एउटा पाठ दियो। रोगले शरीर थकाउँछ तर जीवनप्रतिको चाहनाले मानिसलाई फेरि उठ्न सिकाउँछ।

यी सबै घुमाइ, अवलोकन र भोगाइले काठमाडौँलाई उसका लागि अझै बहुआयामिक बनाइदियो । सहरले उसलाई केवल देखेन, भोग्न बाध्य बनायो। प्रविधि, उपचार र भिडको ठटमा पनि मानवीय संवेदना र आत्मिक शान्ति नै साँचो औषधि रहेछ भन्ने निष्कर्षमा ऊ पुग्यो ।

अन्ततः काठमाडौँ कुनै स्थिर सहर होइन, यो निरन्तर रूपान्तरणको यात्रामा रहेको चेतनशील जीव हो। यसलाई बुझ्न आँखाले मात्र होइन, अनुभूतिले हेर्नुपर्छ; किनकि काठमाडौँ सडक र संरचनाको मात्र नाम होइन, यो यहाँ बाँच्ने मानिसहरूको सोच, व्यवहार र सपनाको साझा कथा हो । काठमाडौँ बदलिएको छ, मानिस बदलिएका छन् । काठमाडौँ अझै पनि सपनाको सहर हो। जहाँ ज्ञानले जरा गाड्छ, जहाँ स्मृतिले घर बनाउँछ ‌।

यो सहर स्मृतिमा अडिएको अतीत र प्रविधिले दौडाइरहेको वर्तमानको संगम हो। कीर्तिपुरले दिएको चेतना, यात्रुहरूको इमान्दारिता, साथीहरूको आत्मीयता, सुविधाले सजिएको जीवन र हराउँदै बदलिँदै गएको संस्कार यी सबैले काठमाडौँलाई बहुआयामिक बनाएका छन्। यहाँ सफाइ छ, सुविधा छ, गति छ, तर त्यससँगै एक्लोपन र आत्मकेन्द्रितताको मौन पीडा पनि छ।


No comments:

Post a Comment