सपनाका सुनौला बिउहरू ( कविता ) - Harka Bohara

नयाँ

Wednesday, June 10, 2026

सपनाका सुनौला बिउहरू ( कविता )


चुरेका हरिया काखमा
हरियालीको मौन गीत गुन्जिरहेछ।
गोदावरीका निर्मल तरङ्गमा
शान्त कविताहरू बगिरहेछन् ।
शीतल समीरले
सपनाका सुनौला बिउहरू छरिरहेछ।
प्रकृतिको पावन अँगालोभित्र
एउटा दीप निरन्तर बलिरहेछ ।

यहाँ बिहान
घामभन्दा पहिले अनुशासन जाग्छ।
यहाँ रात
निद्राभन्दा पहिले लक्ष्यसँग संवाद गर्छ।
वनको मौनताले धैर्य सिकाउँछ,
नदीको प्रवाहले निरन्तरता पढाउँछ,
चुरेको उचाइले सपना देखाउँछ,
धरतीले निष्ठाको अर्थ बुझाउँछ।


कक्षाकोठामा
अक्षर मात्र पढिँदैनन्,
विचारहरू उमारिन्छन् ।
जिज्ञासालाई दिशा दिइन्छ,
ज्ञानलाई कर्मसँग जोडिन्छ।
शिक्षकहरू
आफ्नो प्रकाश बाँडिरहने दीपशिखा हुन्।

विद्यार्थीहरू
आफ्नै भविष्य कुँदिरहेका साधक हुन्।
पुस्तकका प्रत्येक पाना
नयाँ यात्राको निम्ता हो।
परीक्षाको प्रत्येक घडी
आत्मविश्वासको अग्निपरीक्षा हो।
सफलताको प्रत्येक क्षण
मौन परिश्रमको उत्सव हो।

खेलमैदानमा दौडिने पाइला
शरीरका मात्र होइनन्,
साहस र सङ्कल्पका पनि हुन् ।
परेडका प्रत्येक कदममा
राष्ट्रप्रेमको लय सुनिन्छ।

प्रकृतिको हरियालीजस्तै शीतल,
गोदावरीको प्रवाहजस्तै अविरल,
आकाशको क्षितिजजस्तै विशाल
सैनिक स्कुलको यो उज्यालो
ज्ञान, अनुशासन र सेवाको ज्योति बनेर
निरन्तर बलिरहेछ।

No comments:

Post a Comment